आइतबारबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको व्यवसायिक कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइतबारबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको व्यवसायिक कारोबार



काठमाडौं । नेपालको सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आगामी आइतबारदेखि व्यवसायिक कारोबार शुरू गर्ने भएको छ ।

बिहीबार राजधानीमा आयोजित विशेष समारोहकाबीच कम्पनीले आगामी आइतबारदेखि व्यवसायिक कारोबार थाल्ने जानकारी दिएको हो ।

यो बीमा कम्पनी मुलुककै कान्छो भए पनि यसको नेतृत्व भने नेपालकै पहिलो बीमा कम्पनीका सीईओले नेतृत्व गर्दैछन् । बीमा कम्पनीको इतिहासमा रमेशकुमार भट्टराई पहिलो नेपाली सीईओ हुन् । उनले नै महालक्ष्मीको नेतृत्व लिएका छन् ।

कारोबार शुभारम्भसँगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना बिक्री गर्ने गरी आजको पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गरेको छ ।

महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।

दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमा शुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार संचालन गर्ने सीईओ भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक उद्घाटनको तयारी कम्पनीले गरेको छ ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ०८:५१