नेपाली कांग्रेसले मुलुकभर आज प्रदर्शन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाली कांग्रेसले मुलुकभर आज प्रदर्शन गर्दै



काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुलुकभर आज प्रदर्शन गर्दैछ। वर्तमान सरकारले दुई तिहाइ बुहमतको दम्भमा कम्युनिष्ट अधिनायकवादी र सर्वसत्तावाद सुरु गर्न लागेको भन्दै कांग्रेसले मुलुकभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्दैछ। कांग्रेसले सोमबार राजधानीका दिउँसो एक बजे रत्नपार्कमा प्रदर्शन गर्दैछ।

सरकारले जनभावना विरोधी कामलाई अगाडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा जनभावना विपरित काम गरेको भन्दै सरकार विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरेको थियो।

सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल खारेज गर्ने तथा डाक्टर गोविन्द केसीसँग भएको सहमति विपरित विपरित संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै केही समयसम्म कांग्रेसले सदन अवरुद्ध पारेको थियो।

प्रतिपक्षको विरोधपछि सरकारले पूर्वप्रधानमन्त्रीद्वयको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिसकेको छ। ‘सरकारका गलत कामको विरुद्धमा प्रमुख प्रतिपक्षको हैसियतमा सचेत गराउनलाई एक दिने खबरदारी गर्न लागिएको हो,’ कांग्रेसले सांसद अतहर कमाल मुलसमानले डिसी नेपालसँग भने, ‘यो खबरदारीले सरकारले सच्चिने मौका पाउँछ।’

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

प्रकाशित : २१ माघ २०७५, सोमबार ०९:०५