सांस्कृतिक सम्पदामा योगाभ्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सांस्कृतिक सम्पदामा योगाभ्यास



काठमाडौँ ।उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ ।

अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो ।

समाजले आज बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविरमा भारतीय राजदूत मञ्जिवसिंह पुरीको समेत सहभागिता रहेको राष्ट्रिय योग शिक्षक संयोजक पुनम उप्रेतीले बताउनुभयो ।

योग आसनपछि साधकसँग कुरा गर्नुहुँदै उहाँले मानव सभ्यताको स्रोत वाग्मती नदीको सफाइ महाअभियानका लागि भारत सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतका आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिङ नामक आध्यात्मिक अभियान शुरु भएको हो । यसले मानिसलाई भौतिक कोलाहलकाबीच आध्यात्मिक शान्तिका साथ जीवनयापन गर्ने कला सिकाउँछ ।

विश्व योग दिवस २१ जुनको अवसर पारेर आर्ट अफ लिभिङले शंखमूलस्थित वाग्मती किनारबाट जुन १६ अर्थात् असार २ गतेदेखि शुरु गरेको योगशिविर असार ३ गते भक्तपुरको टौमडी, असार ४ गते बौद्धनाथ स्तुप परिसर, असार ५ गते पाटन कृष्ण मन्दिर र गोकर्णेश्वर महादेव मन्दिरमा सम्पन्न भएको थियो ।

दिवसका अवसमरमा असार ७ गते बिहीबार २१ जुनका दिन आर्ट अफ लिभिङले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र शंखमूल पार्कमा पनि शिविर सञ्चालन गर्ने जनाइएको छ ।

प्रकाशित : ६ असार २०७५, बुधबार १५:३५