मेगा बैंक बन्यो देशकै तेस्रो ठूलो बाणिज्य बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंक बन्यो देशकै तेस्रो ठूलो बाणिज्य बैंक



काठमाडौ । काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले गरे ।


कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए ।

अर्बपति बन्ने मन भए बैंक छाडेर कम्पनी खोल्नुसः गभर्नर नेपाल

उनका अनुसार, टुरिज्म डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।


संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताए । मेगालाई अरु बैंक भन्दा पृथक बैंक बनाउन आफूहरु लागिपरेको भन्दै उहाँले सातवटै प्रदेशमा बैंकको नेटवर्क विस्तार गर्न सफल भएको उल्लेख गरे ।

मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन। ‘सबै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति बमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखाहरु खोल्ने कार्य भइरहेकोमा यसै महिनामा ८ वटा शाखाहरु सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरु पनि यसै आर्थिक वर्ष भित्र खोलिने गरी कार्य अघि बढिरहेको छ । साथसाथै अन्य २ स्थानमा पनि शाखा खोल्ने तयारीमा बैंक रहेको छ । यो सबै गरेर बैंकको शाखा सञ्जाल वृहत भई १०२ कायम हुनेछ ।’– उनले भनिन् ।

‘मेगामा अब बैंकिङ्गमा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८८६ पुगेको छ । म समस्त नेपालीहरुलाई विश्वास दिलाउन चाहन्छु यहाँहरुको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न बैंकका हरेक कर्मचारी सदैव तत्पर रहनेछन । जसको मूल उद्देश्य ग्राहकवर्गहरुको वित्तीय आवश्यकता पूरा गर्नु नै हुनेछ ।’– सिइओ खुञ्जेलील भनिन् ।

मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको छ ।

यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि बैंकको स्थान क्रमशः २६औं र २७औं रहेको थियो ।

मेगा बैंकको देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको छ । यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

प्रकाशित : ३० बैशाख २०७५, आईतवार १५:११