रसुवागढी र साञ्जेनको शेयर बाँडफाँड आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रसुवागढी र साञ्जेनको शेयर बाँडफाँड आज



काठमाडौं। रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले साधारण शेयर बाँडफाँडको तयारी गरेका छन् ।आज शुक्रबार अबेरसम्म ती दुवै कम्पनीको आईपीओ बाँडफाँडको तयारी गरिएको हो ।

बाँडफाँडको समय भने तय नभए पनि आजै अबेरसम्म शेयर बाँडफाँड गरिने दुवै आयोजनाका प्रमुखले जानकारी दिएका छन् । रसुवागढी हाइड्रोपावरका प्रमुख माधव कोइरालले शेयर बाँडफाँड आजै हुने बताए । यस्तै साञ्जेन हाइड्रो पावरका प्रमुख किरण श्रेष्ठले पनि आजै शेयर बाँडफाँड हुने बताए ।

साञ्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोषका सञ्चार अधिकृृत उद्धव सिलवालले शेयर बाँडफाँडको तयारी सकिएको बताए । शेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन भएकाले बाँडफाँडको तयारी गरिएको हो ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने समय तोकिएको थियो । यस्तै, संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समय अवधि तोकिएको थियो ।
दुवै समूहका आवेदनकर्तालाई आज नै शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ । दुवै कम्पनीले माग गरेको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको जनाएका छन् ।

दुवै कम्पनीमा सञ्चयकर्ताका लागि २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ४ लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्याइएको थियो । ती आवेदनबाट ११ अर्ब रुपैयाँ संकलन भएको छ । रसुवागढीमा १ लाख ८८ हजार र सान्जेनमा १ लाख ८३ हजारभन्दा बढी सञ्चयकर्ताले आवेदन दिएका थिए ।यस आधारमा न्यूनतम ७० र बढीमा १०० कित्तासम्म शेयर पाउने अवस्था देखिएको छ ।

आवेदक सबैले पाउने गरी बाँडफाँडको तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए । रसुवागढीमा बढीमा ७० कित्ता शेयर दिने तयारी गरिएको बताइएको छ । सान्जेन जलविद्युत कम्पनीको शेयर खरिद गर्न आवेदन दिएका हरेक सञ्चयकर्ताले करिब ४० कित्ता शेयर पाउने भएका छन् ।

मागभन्दा झन्डै ६ गुणा बढी आवेदन परेकाले शेयर संख्या कम भएको हो । रसुवामा निर्माण भइरहेको ५७.३ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

केही आवेदन रद्द भएकाले शेयर बाँडफाँडमा समस्या भएको थियो । यस्तै कम्पनीले संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) र ऋणदाता संस्थाका कर्मचारीका लागि निष्कासन गरेको शेयरमा १९ हजार १३३ जनाले आवेदन दिएका छन् । उनीहरूबाट ८१ करोड ७३ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ ।

रसुवागढीमा कोषका ५८५ कर्मचारीले आवेदन दिएका छन् । उनीहरूबाट ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, संस्थापक संस्थाका ८ हजार ९ सय ८६ कर्मचारीले दिएको आवेदनबाट ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ । यसैगरी, सान्जेनमा कोषका ५८५ कर्मचारीले आवेदन दिएका छन् । यसबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । उता संस्थापक संस्थाका ८ हजार ९ सय ७७ आवेदकबाट २६ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।

प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार ११:५१