कर्मचारी सञ्चयकोषले नयाँ वर्षदेखि निःशुल्क एसएमएस सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्मचारी सञ्चयकोषले नयाँ वर्षदेखि निःशुल्क एसएमएस सेवा दिने



काठमाडौं। विज्ञानको प्रयोगले नागरिकका आवश्यकतालाई सहज मात्रै होइन थप सरल बनाइदिएको छ । प्रविधिको प्रयोमा पछाडि रहेका सरकारी निकायसमेत पछिल्ला दिनमा प्रविधिको भरपूर प्रयोग गर्न थालेका छन् । यही मेसोमा कर्मचारी सञ्चय कोषसमेत थपिएको छ ।

कोषमा हाल करिब ७ लाख सञ्चयकर्ता रहेका छन् । उनीहरुले नियमति रुपमा कोष कट्टी गर्दै आएका छन् ।

कोषमा जम्मा गरेको पैसा कति भयो, कति ब्याज पाइयो भन्ने जस्ता कुराको जानकारी लिन पनि कोष नै पुग्नुपर्ने सञ्चयकर्तालाई बाध्यता रहँदै आएको थियो । तर, पछिल्लोपटक कोषले सञ्चयकर्तालाई एसएमएसमार्फत कोषमा जम्मा भएको रकमको जानकारी दिने प्रणाली सञ्चालनको अन्तिम तयारी गरिरहेको छ ।

आगामी वैशाख १ गतेदेखि उक्त प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । कोषमा आवद्ध सञ्चयकर्ताले रकम जम्मा गर्दा वा सापटी लिँदा यसको जानकारी एसएमएसबाट गराउने प्रणाली सञ्चालनका लागि नेपाल टेलिमकसँग समझदारीको समेत तयारी गरिएको छ ।

सञ्चयकर्तालाई आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले एसएमएस प्रणाली लागू गर्न लागिएको कोषका कार्यबहाक प्रशासक दीपक रौनियारले जानकारी दिए ।

यसअघि नै बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्दा वा निकाल्दा यसको जानकारी मोबाइलको एसएमएसबाट प्राप्त हुने प्रणाली लागू गरिसकेका थिए । नेपालका धेरै बैंक तथा वित्तीय संस्थाले त्यस्तो प्रणाली लागू गरिसकेका छन् । तर, बैंक तथा वित्तीय संस्थाले एसएमएसमा जानकारी दिँदा निश्चित प्रतिशत शुल्क समेत लिने गरेका छन् । त्यस्तो शुल्क बैंक तथा वित्तीय संस्थाले फरक–फरकसमेत तय गरेका छन् ।

तर, कोषले सञ्चालनमा ल्याउन लागेको उक्त एसएमएस सेवामा भने कुनै पनि प्रकारको शुल्क नलिने तयारी गरेको छ । ‘हामी हाम्रा सञ्चयकर्तालाई बढी भन्दा बढी सेवा दिन तयार छौं, त्यो हाम्रो दायित्वसमेत भएकाले कुनै पनि प्रकारको शुल्क लिनुपर्छ भन्ने मान्यता राख्दैनौ ।’ रौनियारले भने ।

एसएसएम सेवाबारे नेपाल टेलिकमसँग छलफल तथा परामर्श भइरहेको कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले बताउँछन् । उनले सेवा दिँदा लाग्ने खर्च वा सेवा शुल्क सञ्चयकर्तासँग नउठाउने कुरा भएको बताए ।एसएमएसको सेवा शुल्क कोषले नै टेलिकमलाई तिर्ने गरी छलफल भइरहेको छ ।

२०७५ साल वैशाख १ गतेदेखि नै एसएमएस सेवा दिने गरी तयारी गरिएको छ । कोषले सञ्चित रकममध्ये अधिकांश हिस्सा सञ्चयकर्तामा नै लगानी गरेको छ । कोषले आर्थिक वर्ष २०७३÷७४ मा १ अर्ब ८९ करोड खुद नाफा गरेको छ ।

नाफामध्ये ९२ प्रतिशत रकम मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा रकममध्ये ९२ प्रतिशत सञ्चयकर्ताकै हितमा खर्च गरिएको छ । कोषले सञ्चयकर्ताको नाममा बेतन कर्णाली हाइड्रोपावर कम्पनीमा शेयर लगानीका लागि व्यवस्था गरिएको छ । कोषमा हालसम्म २ खर्ब ५५ अर्ब २९ करोड जम्मा भएको छ । उक्त रकममध्ये २ खर्ब ४९ अर्ब ३३ करोड जलविद्युत्, वायु सेवामा लगानी गरिएको छ ।

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १२:२४