काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार सम्हालेका छन ।
पदभार कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष श्रेष्ठले आफु अप्ठ्यारो समयमा जिम्मेवारी सम्हालेकोले चुनौतीलाई अवसरमा बदल्ने बताए । यसका साथै नयाँ स्टक एक्सचेञ्जबारे बोल्दै श्रेष्ठले नेपाल सरकारले दिएको आदेश अनुसार निर्णय लिने बताए । उनले एभरेष्ट बैंकको बोनस दर्ताको पहिलो निर्णय गरेर आफ्नो काम थालनी गरेका हुन् ।
श्रेष्ठले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले सेयर बजारलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरी काम गर्ने योजना रहेको दावी गरे । पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए ।
‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’
साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्याएर ती कम्पनीलाई रोकिएको सेयर निष्कासन समयमा नै आउन थाल्ने पनि बताए । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ ।
Comment