चालक र सहचालकको पहिचान पातलो ज्याकेटबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चालक र सहचालकको पहिचान पातलो ज्याकेटबाट



काठमाडौँ । रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन् ।

रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक र सहचालकको पहिचान झल्कने बताउनुहुन्छ ।

“पोशाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ,”– उहाँको भनाइ छ– “चालकका लागि रातो रंगको कपडाको ज्याकेट र सहचालकका लागि हल्का पहेँलो रंगको ज्याकेटको व्यवस्था गरिएको छ ।

सोही मार्गमा चल्ने बा २ ख ३६२४ नम्बर माइक्रोबसका चालक हरि महर्जन भन्नुहुन्छ, “नेपाली भन्दा पनि विदेशी पाहुनालाई चालक र सहचालक छुट्याउन पोशाकले सहज हुन्छ,”

यी केबल प्रतिनिधि पात्र मात्र हुन् । आज रत्नापार्कदेखि ललितपुरसम्म चल्ने झण्डै १०० माइक्रोबसका चालक तथा सहचालकलाई पोशाक वितरण गरिएको हो । ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निरत्न नेवा पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने बताउनुहुन्छ । “पोशाक लगाएपछि चालक र सहचालकलाई थप जिम्मेवारी थपिएको छ,”– उहाँ भन्नुहुन्छ ।

हाल रत्नापार्क भएर ललितपुरका विभिन्न स्थानमा झण्डै २०० माइक्रो बस आवतजावत गर्दै आएका छन् । यो अभियानले यात्रुले चालक तथा सहचालकलाई सजिलै चिन्ने हुने अध्यक्ष नेवाको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं ३ का संयोजक धर्म रिमाल उपत्यकाभित्रका सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा पोशाक लगाउने निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको बताउनुहुन्छ ।

“अब रत्नापार्कदेखि उपत्यकाका विभिन्न स्थानमा चल्ने सार्वजनिक बसका चालक तथा सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ,”–उहाँ भन्नुहुन्छ । शुरुमा काठमाडौँ उपत्यका र त्यसपछि देशभर चल्ने सवारी साधनलाई पोशाकको व्यवस्था गरिने गरी महासंघले काम गरिरहेको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरसम्मको १४ नं रुटबाट शुरु भएको उक्त अभियान उपत्यकाका सबै रुटमा लैजाने बताउनुहुन्छ । “आज शुरुवात हो, अब उपत्यकाका सबै रुटमा यो अभियान सञ्चालन हुन्छ,”– उहाँको भनाइ छ ।

पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रुपमा गाडी चलाउने अभियानको विकास हुने प्रमुख खनाल उल्लेख गर्नुहुन्छ । आजदेखि शुरु भएको उक्त अभियान आ–आफ्नो समितिबाट कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ ।

यसअघि ट्राफिक व्यवस्थापन सहजताका लागि चालक, सहचालकलाई बाटोमा बसेर शिक्षा दिँदै आएको महाशाखाले यो कामसँगै ट्राफिक व्यवस्थापनमा थप सहजता हुने विश्वास समेत लिएको छ ।

प्रकाशित : २ चैत्र २०७४, शुक्रबार १५:५२