विदेश भ्रमणमा ब्रह्मलुट : वर्षभरिको खर्च ६ महिनामै स्वाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विदेश भ्रमणमा ब्रह्मलुट : वर्षभरिको खर्च ६ महिनामै स्वाहा



काठमाडौँ । भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ । सरकारले चालू आवमा कर्मचारीको विदेश भ्रमणका लागि ‘भ्रमण खर्च’ शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगरे थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ ।

चालू आव ०७४,०७५ को बजेटमा ‘खर्च शीर्षक नम्बर २२६१२’ मा सरकारी कर्मचारीका लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ । बजेटमा कर्मचारी ‘भ्रमण शीर्षक’ मा एक वर्षका लागि १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ । सो शीर्षकको रकम सरकारी कर्मचारीको विदेश भ्रमण र सरुवा भत्तामा खर्च गरिन्छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीको विदेश भ्रमणमा २ अर्ब १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खर्च भइसकेको छ । भ्रमण शीर्षकको अधिकांश रकम विदेश भ्रमणका नाममा खर्च भएको छ । यो अवधिमा ४ हजार भन्दा बढी सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् ।

सरकारले चालू आवमा पुँजीगत खर्च २३.६० प्रतिशत मात्र गरेका बेला सरकारी कर्मचारीको विदेश भ्रमण खर्च भने १२४.२८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पहिलो ६ महिनामा कर्मचारीको भ्रमण खर्च ९५.३३ प्रतिशतले वृद्धि भएको छ ।
नागरिकबाट

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १२:१५