राजश्व असुली गर्न अर्थमन्त्रीको कडा निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजश्व असुली गर्न अर्थमन्त्रीको कडा निर्देशन



काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिनुभएको छ । चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभए पछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिनुभएको हो ।

भन्सार विभागका अनुसार देशभर २३ वटा प्रमुख भन्सार कार्यालय र १४३ वटा कार्यालय छन् । सरकारको लक्ष्यअनुसार ती भन्सार विन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अत्य कर असुल गरिँदै आएको छ ।

भन्सारले कूल राजश्वको ४४ प्रतिशत तथा कर राजश्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ ।

चालु आवको बजेटमा रु सात खर्ब ३० अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा यस साताको बिहीबारसम्म रु चार खर्ब सात अर्ब अर्थात ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभएको छ –“राजस्व जोखिम हुनेगरी कुनै काम कारबाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ”

औपचारिक व्यापारलाई प्रवद्र्धन गर्न यथार्थपरक घोषणा र सही मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उहाँले चोरीपैठारी नियन्त्रण कडाइका साथ गर्ने गराउने गरी कार्यालयका सबै कर्मचारीलाई जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री डा खतिवडाले अखाद्य तथा वातावरणीय रुपमा नकारात्मक प्रभाव पार्ने माल वस्तु आयात हुन नपाउने गरी विशेष सतर्कता अपनाउन समेत निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७४, शनिबार १५:४८