जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु



काठमाडौँ।नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।

‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि काठमाडाँैको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो ।

विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक प्रदर्शनी आयोजना गरेको संघका अध्यक्ष खुमराजा ढुङ्गानाले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका निम्ति राज्यले साना व्यवसायीको सम्मान गर्नुपर्ने बताउनुभयो । “दैनिक सयौँ युवा विदेशिएका बेला स्वदेशमा रोजगारको व्यवस्थाका लागि साना व्यवसायमा राज्यले लगानी गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले स्वदेशी वस्तुलाई प्राथमिकता दिनका लागि राज्यले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने बताए ।

नेपाल व्यापार संघका महासचिव कृष्ण अधिकारीले स्वदेशमा उत्पादित सामग्री राम्रो र टिकाउ हुने भन्दै यसलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । हाल नेपालमा ३५ प्रतिशत नेपाली जुत्ता प्रयोग हुँदै आएको संघले जनाएको छ ।

प्रकाशित : १० फाल्गुन २०७४, बिहीबार १४:१४