इनरुवा। सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् ।
पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् ।
मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । पोखरामा हुने गरेको प्याराग्लाइडिङको विकल्पका रुपमा धरान रहेको प्याराग्लाइडर मणिकुमार जिमीको भनाइ छ ।
धरानको मौसम र भौगोलिक अवस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पाइलटलाई उपयुक्त रहेको छ । धरान वरिपरिका चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटारलगायतका स्थानबाट सहजैरुपमा उडान भर्न सकिने अवस्था रहेको प्याराग्लाइडर क्षितिज बटाजोले बताए ।
विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिएको हाे । स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेलले धरानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुढा सुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालक लेखमणि जिमीले बताए ।
पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै मठमन्दिर घुमाउने योजना बनाउने धरानको स्थानीय सरकारलगायत सम्बन्धित निकायले प्याराग्लाइडिङको व्यावसायिक विकासका लागि पनि योजना बनाउन आवश्यक छ ।
Comment