माथिल्लो तामाकोसीको आईपीओले कति पायो रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माथिल्लो तामाकोसीको आईपीओले कति पायो रेटिङ



काठमाडौं। माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले ठूलो परिमाणमा साधारण शेयर जारी गर्ने भएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको यो कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको उक्त शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

कम्पनीले शेयर निष्कासनका लागि कात्तिक १० मा नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराईज क्यापिटल रहेका छन् ।

यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्ट्याएको २४ प्रतिशत शेयर बाँडफाँड समेत गरिसकेको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले शेयर निष्कासनको लागि मंसिर महिनाभित्र नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण पेस गर्ने कम्पनीले जनाएको छ । कम्पनीले २०७४ भित्रै शेयर निष्कासन तथा बाँडफाँड गरिसक्ने जानकारी दिएको छ ।

प्रकाशित : १५ माघ २०७४, सोमबार ११:१७