तेलको मूल्य ४० डलरमुनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तेलको मूल्य ४० डलरमुनि



अन्तरराष्ट्रिय बजारमा शुक्रवार कच्चा तेलको मूल्य सन् २००९ यता पहिलोपटक ४० डलरभन्दा तल ओर्लिएको छ । शुक्रवार अमेरिकी अत्यधिक आपूर्तिको सङ्केत र कमजोर चिनियाँ म्यानुफ्याक्चरिङ तथ्याङ्कले तेलको भाउ ओरालो लागेको हो । अमेरिकी ऊर्जा कम्पनीहरूले गतहप्ता २ रिग्स तेल थपेको साप्ताहिक तथ्याङ्कले देखाएपछि यूएस क्रुड ४० डलरभन्दा तल आएको थियो ।

शुक्रवार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा अक्टोबर डेलिभरीको यूएस क्रुड फ्युचर्स २ दशमलव १ प्रतिशत अर्थात् ८७ सेण्टले घटी प्रतिब्यारेल ४० डलर ४५ सेण्टमा आएको थियो ।

उक्त दिनको कारोबारमा अमेरिकी बेञ्चमार्क साढे ६ वर्षकै न्यून बिन्दु ३९ डलर ८६ सेण्टसम्म आएको थियो । योसँगै यूएस क्रुडले गतहप्ता लगातार आठौं साप्ताहिक कमी बेहोरेको छ । सो अवधिमा यसको भाउ ३३ प्रतिशतले घटेको छ । यो सन् १९८६ यता अमेरिकी बेञ्चमार्कले बेहोरेको सबैभन्दा धेरै कमी हो । उता, शुक्रवार नै लण्डनस्थित आईसीई फ्युचर्स एक्सचेञ्जमा कारोबार बन्द हुँदा ब्रेण्ट क्रुड फ्युचर्स साढे २ प्रतिशतले अर्थात् १ डलर १६ सेण्टले घटी प्रतिब्यारेल ४५ डलर ४६ सेण्टमा आएको छ ।

शुक्रबारको कारोबारमा यूरोपेली बेञ्चमार्क ४५ डलर शून्य ७ सेण्टको न्यून बिन्दुमा आएको थियो । बिहानी कारोबारमा विश्व शेयर बजार र मुद्रा बजारमा उतारचढाव आएपछि ऊर्जा बजार ओरालो लागेका थिए । विश्वको सबैभन्दा ठूलो तेल प्रयोगकर्ता चीनको म्यानुफ्याक्चरिङ गतिविधि जुलाईमा साढे ६ वर्षकै न्यून बिन्दुमा आएको तथ्याङ्कले पनि तेलको भाउमा थप दबाब दिएको हो । ‘बजार निरन्तर ओरालो लागिरहेको छ, यो प्रवृत्ति यथावत् रहने देखिएको छ,’ लण्डनस्थित ब्रोकरेज संस्था पीभीएम आयल एशोसिएट्सका निर्देशक रोबिन बिबरले भने । एजेन्सी

प्रकाशित : ६ भाद्र २०७२, आईतवार ११:५०