भारतको सरकारी पेन्सन कोषले शेयर बजारमा ८० करोड डलर लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भारतको सरकारी पेन्सन कोषले शेयर बजारमा ८० करोड डलर लगानी गर्ने



नयाँदिल्ली । भारतको सरकारी पेन्सन कोषले चालू आर्थिक वर्षमा घरेलु शेयर बजारमा करीब ८० करोड डलर लगानी गर्ने योजना बनाएको छ । कर्मचारी सञ्चयकोष संगठन (इपीएफओ) का आयुक्त के के जलनले कोषको ६४ वर्षे इहिासमा पहिलोपटक शेयरमा लगानी गर्न लागिएको बताएका हुन् । आगामी वर्षको मार्चसम्म १ वर्षमा कोषले ५० अर्ब रुपैयाँ (७८ करोड ४० लाख) देशको प्रमुख दुई शेयर बजारमा लगानी गर्नेछ । सो रकम ७० अर्बदेखि ८० अर्ब रुपैयाँसम्म पनि पुग्नसक्ने जलनले बताएका छन् ।

‘हाम्रो पहिलो लगानी भएकाले हामीले जोखिम घटाउन ईटीएफको माध्यमबाट लगानी गर्ने निर्णय गरेका छौं,’ जलनले भने । लगानीकर्ताहरुले यो वर्षको शुरुमै कोषले शेयर बजारमा लगानी गर्ने कदमको स्वागत गरेका थिए । तर, लगानी रकम निकै कम भएकोमा उनीहरु केही निराश भएको बताइएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) ले गत आर्थिक वर्षमा शेयर बजारमा लगानी गरेको रकमको तुलनामा कोषको लगानी निकै थोरै छ । गत मार्चसम्मको १ वर्षमा एलआईसीले ४ खर्ब ७० अर्ब रुपैयाँ शेयर बजारमा लगाएको थियो । ईपीएफओसँग ८५ खर्ब रुपैयाँ रहेको छ । यीमध्ये धेरैजसो रकम सरकारी श्रृणपत्रमा लगानी गरिएको छ ।–एजेन्सी

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार १३:२२