प्रभुसँग एक्विजिसनको प्रस्ताव ग्राण्डले पारित गर्‍यो,भदौको दोस्रो हप्ताबाट एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभुसँग एक्विजिसनको प्रस्ताव ग्राण्डले पारित गर्‍यो,भदौको दोस्रो हप्ताबाट एकीकृत कारोबार



काठमाडौं। प्रभू बैंकले ग्राण्ड बैंकलाई एक्विजिसन गरेको छ । विहीबार सम्पन्न विशेष साधारणसभाले ग्राण्ड बैंकलाई एक्विजिसन गर्ने कार्य अनुमोदन गरेपछि ग्राण्ड बैंक विधिबत ढंगले प्रभू बैंकमा एक्विजिसन भएको छ । एक्विजिसन पछि भदौको दोस्रो हप्ताबाट एकीकृत कारोबार सुरु हुने छ । प्रभू बैंकले ग्राण्ड वैंकलाई एक्विजिसन गर्नका लागि राष्ट्र बैंकले गत असार ३ गते सैद्धान्तिक सहमतिको पत्र दिएको थियो । सोही अनुसार ग्राण्ड बैंकले पनि विहीबार नै विशेष साधारणसभा सम्पन्न गरेको छ । सोही साधारणसभाले  ग्राण्ड बैंकलाई प्रभू बैंकमा एक्विजिसन गर्न अनुमोदन गरेको छ । अब राष्ट्र बैंकले अन्तिम पत्र उपलव्ध गराएपछि ग्राण्ड बैंक औपचारिक रुपमा विलय हुने छ भने संयूक्त कारोवार प्रभू बैंकका नामबाट हुने छ ।

एक्विजिसन कार्यका लागि प्रभू बैंकको प्रति शेयर मूल्य १ सय २१ रुपैयाँ ४५ पैसा तथा ग्राण्ड बैंकको प्रति शेयर मूल्य ६५ रुपैयाँ ५८ पैसा कायम गरिएको थियो । एक्विजिसन पछि प्रभू बैंकको अधिकृत पुँजी १० अर्ब पुगेको छ, चुक्ता पुँजी करिव ६ अर्व अर्थात ५ अर्व ९२ करोड ८९ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको छ । ग्राण्ड बैंक एक्विजिसन भएपछि प्रभू बेंकको कुल निक्षेप ५० अर्ब ३४ करोड तथा कुल कर्जा ३९ अर्ब २७ करोड कायम हुनेछ  । हाल देशभरी १ सय १२ वटा शाखा रहेको प्रभू बैंकका शाखा ग्राण्ड बैंकको एक्विजिसन पछि १ सय ३४ वटा हुनेछन् । शाखा दोहोरीएका केही ठाउँहरुमा रि लोकेशन पछि ति ठाउँका शाखालाई ठाउँ सारी गरीने छ । प्रभू बैंक नीजि क्षेत्रको सबैभन्दा ठुलो बैंक भएको छ । ग्राण्ड बैंक प्रभू बैंकमा एक्विजिसन हुँदा बैंकको संचालक समिति, कारोवार प्रकृया तथा माथिल्लो तहका कर्मचारीमा कुनै प्रभाव पर्ने छैन । बैंकमा अशोक शेरचन प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

ग्राण्ड बैंकको एक्विजिसन पछि प्रभू बैंकमा रहेको किष्टको लोगो र ‘पावर टु सक्सीस’ नारा हटेको छ । यसअघि प्रभू विकास बैंक, किष्ट बैंक, गौरीसंकर डेपलपमेन्ट बैंक र जेनीथ फाइनान्स एक आपसमा गाभिएपछि प्रभू बैंक बनेको थियो । विभिन्न कारणले धरासायी अबस्थामा पुगेको किष्ट बैंकका शेयर होल्डर र सर्वसाधारणको जोखिममा परेको रकम मर्जर पछि जोखिमबाट जोगिएको हो । बैंक मर्जरको पहिलो अवधिमै प्रभू बैंकले करिव ५४ करोड खुद नाफा कमाएपछि प्रभू बैंकतर्फ सर्बसाधारणको आकर्षण थप बढेको छ । यो अवस्थामा अर्को धरासायी अबस्थामा रहेको ग्राण्ड बैंकलाई समेत एक्विजिसन गरेर प्रभू बैंकले ग्राण्ड बैंकमा रहेको सर्बसाधारण र शेयरधनीको जोखिमपूर्ण रकमलाई सहजिकरण गर्नतर्फ लागेको छ । प्रभू बैंकप्रतिको सर्वसाधारणको विश्वास र सक्षम टिमका कारण ग्राण्ड बैंकलाई एक्विजिसन गर्न सक्षम भएको प्रभू बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले बताएका छन् । अब प्रभू बैंकका शाखा कार्यालय १ सय ३६ हुने छन् भने एटएिम १२३ वटा र कर्मचारी संख्या १३ सय ५० पुग्नेछन् ।

प्रकाशित : ७ श्रावण २०७२, बिहीबार १३:१५