राष्ट्र बैंकले बजारमा ल्याउँदै पाँच रुपैयाँका १५ करोड नयाँ सिक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१३ मंसिर २०८३, आइतबारSunday, November 29, 2026

अर्थबजार स्टोरी

राष्ट्र बैंकले बजारमा ल्याउँदै पाँच रुपैयाँका १५ करोड नयाँ सिक्का

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का बजारमा ल्याउने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीसम्बन्धी काम गर्न अन्तर्राष्ट्रिय कम्पनीबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार बोलपत्र प्रक्रियामा पूर्वयोग्य ठहरिएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्रै सहभागिता जनाउन पाउनेछन्। इच्छुक कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्रसम्बन्धी कागजात खरिद गर्न इच्छुक कम्पनीले २० हजार रुपैयाँ वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा तिर्नुपर्नेछ। कागजात खरिद गर्ने अन्तिम म्याद डिसेम्बर २८ सम्म तोकिएको छ। यससम्बन्धी जानकारी दिन राष्ट्र बैंकले डिसेम्बर ११ मा थापाथलीस्थित कार्यालयमा पूर्वबोलपत्र बैठकसमेत आयोजना गर्ने जनाएको छ।

बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म रहेको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ।

बोलपत्र प्रक्रियामा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक जमानत पेस गर्नुपर्नेछ। उक्त जमानत बोलपत्र पेस गरेको मितिदेखि कम्तीमा १५० दिनसम्म मान्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १३ मंसिर २०८३, आइतबार ११:१७ 29 November, 2026 11:17 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।