पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थ राजनीति

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व प्रहरी परिषद्को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले अवकाशपछि पनि राष्ट्र र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी रहने बताए । पूर्व प्रहरीहरूलाई संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई राष्ट्र सेवामा परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

लिङ्देनले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै देशलाई बलियो बनाउन इमानदार राजनीतिक नेतृत्व र सशक्त नागरिक समाज आवश्यक रहेको बताए ।

उनले भने, ‘यस्तो बेला राज्यका बारेमा जानेको, नागरिक समाजलाई बुझेको मानिसहरू तपाईँहरूको सक्रियताको खाँचो छ देशलाई । मुलुकलाई तपाईँहरूको योगदानको अझै खाँचो छ ।’

उनले पूर्व प्रहरी परिषद्को अधिवेशन नेतृत्व चयन र समिति निर्माणमा मात्रै सीमित हुन नहुने बताए । देशभरका पूर्व प्रहरीसम्म संगठन विस्तार गरी उनीहरूको शक्तिलाई देश सेवाको महत्त्वपूर्ण काममा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

लिङ्देनले पूर्व प्रहरीहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा र अधिकारका विषयमा पनि परिषद्ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । पूर्व राष्ट्रसेवक तथा पूर्व प्रहरीहरू कतिपय सेवा सुविधाबाट वञ्चित रहेको र केही विषयमा असमान व्यवहार भइरहेको उल्लेख गर्दै उनले त्यसको समाधानका लागि संगठनले आवाज उठाउनुपर्ने धारणा राखे ।

पूर्व प्रहरीहरूको उमेरभन्दा अनुभव, विचार, निष्ठा र इमानदारिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो । समाजलाई दिशा दिने काममा उमेरभन्दा निरन्तरता र लगनशीलताले महत्त्व राख्ने उनले बताए ।

लिङ्देनले राप्रपाले उठाउँदै आएका राजसंस्था, सनातन हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजीका मुद्दाबारे पनि धारणा राखे । राजसंस्था व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको स्थायित्वका लागि आवश्यक रहेको उनले बताए ।

‘राजसंस्था यो मुलुकको लागि आवश्यकता छ, यो मुलुकको स्थायित्वको लागि आवश्यक छ । त्यसकारण म राजसंस्थाको पक्षमा उभिएको हुँ र समग्र राप्रपा त्यही उद्देश्यले राजसंस्थाको पक्षमा उभिएको हो,’ उनले भने ।

राजसंस्था र लोकतन्त्र एकअर्काका विरोधी नभएको दाबी गर्दै उनले बेलायत, जापान, स्पेन, नर्वे, स्विडेन र डेनमार्कलगायतका देशमा राजसंस्था र लोकतन्त्र सँगसँगै अघि बढेको उदाहरण प्रस्तुत गरे । राजा हुनु भनेको प्रजातन्त्र र लोकतन्त्रको अन्त्य हुनु नभएको विषय जनतामाझ स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, सनातन हिन्दु राष्ट्रको अवधारणा कुनै धर्म वा समुदायलाई निषेध गर्ने उद्देश्यले अघि नसारिएको उनले बताए । नेपालको मौलिक सभ्यता, संस्कृति र पहिचानको संरक्षणका लागि हिन्दु राष्ट्रको मुद्दा उठाइएको उनको दाबी थियो ।

प्रकाशित : १२ मंसिर २०८३, शनिबार १८:२९ 28 November, 2026 6:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।