काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
कर प्रशासनमा योगदान पुर्याउने तथा विभिन्न विधामा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गर्दै आएको छ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा सरकारले २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउन थालेको हो। कर तिर्ने संस्कृतिको विकास गर्ने र करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न क्षेत्रका उत्कृष्ट करदाता छनोट गरी सम्मान गर्ने गरिएको छ।
यस वर्ष निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनलले सम्मान प्राप्त गरेको छ भने वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि उत्कृष्ट करदाता बनेको छ।
सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल सम्मानित भएको छ। कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि र बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेडले सम्मान पाएका छन्।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाता बनेको छ। पर्यटन व्यवसायमा सोल्टी होटल लिमिटेड र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि सम्मानित भएका छन्।
वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सम्मान प्राप्त गरेको छ। ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन्।
व्यक्तिगत आयकरतर्फ व्यवसायी राजबहादुर शाह सम्मानित भएका छन्। त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिष्टिलरी लिमिटेड, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालिले सम्मान पाएका छन्।
वित्तीय तथा बीमा क्षेत्रतर्फ पनि तीन संस्थाले सम्मान प्राप्त गरेका छन्। जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता बनेका छन्।
राष्ट्रिय कर दिवस २०८३ मा सम्मानित १९ करदाता
१. निकायहरूमध्ये सबैभन्दा बढी आयकर: सूर्य नेपाल प्रालि
२. एकलौटी फर्म: थर्ड आई इन्टरनेशनल
३. वस्तु निर्यात: डाबर नेपाल प्रालि
४. सूचना प्रविधि सेवा निर्यात: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल
५. कृषि तथा पशुपन्छीजन्य उद्योग: ओसीबी फुड्स एन्ड फिड्स प्रालि
६. बैंकिङ क्षेत्र: नबिल बैंक लिमिटेड
७. स्वास्थ्य तथा शैक्षिक संस्था: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
८. पर्यटन व्यवसाय: सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापार: सीजी इम्पेक्स प्रालि
१०. वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक उद्योग: भोटेकोशी पावर कम्पनी प्रालि
१२. रेमिट्यान्स तथा मनी ट्रान्सफर: आईएमई लिमिटेड
१३. व्यक्तिगत आयकर: राजबहादुर शाह
१४. मूल्य अभिवृद्धि कर: हिमालयन डिष्टिलरी लिमिटेड
१५. वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड
१६. विशेष उद्योग: वरुण बेभरेज नेपाल प्रालि
१७. जीवन बीमा: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड
१८. निर्जीवन बीमा: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
१९. लघुवित्त: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
विभिन्न क्षेत्रका करदातालाई सम्मान गर्दै सरकारले कर प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने तथा राजस्व संकलनमा निजी क्षेत्र र नागरिकको सहभागिता बढाउने लक्ष्य राखेको छ।







Comment