नयाँ सहमतिप्रति ग्रीसमा असन्तुष्टी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ सहमतिप्रति ग्रीसमा असन्तुष्टी



ग्रीसका प्रधानमन्त्री एलेक्सीस सीप्रासले आफ्नो देशलाई ऋण संकटबाट पार लगाउन नयाँ कडा मितव्ययी कदमहरु उठाने प्रतिवद्धता सहित युरोजोनका नेताहरुसँग गरेको सहमतिलाई लिएर आफ्नै देशभित्र बढ्दो विरोधको सामना गरिरहेका छन्।ब्रसेल्समा भएका लगातारका बैठकहरुपछि प्रधानमन्त्री सीप्रास स्वदेश फर्किदा उनी समक्ष नयाँ चुनौतीहरु देखा परेका छन्।

सहमतिप्रति प्रधानमन्त्रीकै सीरिजा पार्टीभित्रैबाट पनि सहमतिप्रति असन्तुष्टी देखिएको छ। उक्त दलभित्रका कट्टपन्थीहरुले देशकानिम्ति सहमति अपमानजनक भएको टिप्पणी गरेका छन्।सत्ता गठबन्धनका अन्य घट्कहरुबाट पनि सहमतिप्रति प्रश्न उठाइएको छ।

सत्ता गठबन्धनभित्रको एउटा सानो दलको नेतृत्व गरेका रक्षामन्त्री प्यानोस क्यामेनोसले भने, “देशका प्रधानमन्त्रीले ‘कु’ को सामना गरे। त्यो ‘कु’ जर्मनीद्वारा गरियो, नेदरल्याण्डस, फिनल्याण्ड र अन्य बाल्टिक देशहरुद्वारा। बैङ्क टाट पल्टिने विषयलाई लिएर प्रधानमन्त्रीलाई ‘ब्ल्याक-मेल’ गरियो।”

नयाँ सहमतिमा कर बृद्धि, निबृतिभरणमा कटौती र रोजगार कानुनमा परिवर्तन गर्ने प्रतिवद्धता छ।

ती प्रस्तावहरु ग्रीक संसदद्वारा बुधवारसम्ममा अनुमोदन गराउने प्रतिवद्धता प्रधानमन्त्रीले गरेका छन्।

तर ग्रीक श्रममन्त्रीले संसदको साथ जुटाउन सजिलो नहुने चेतावनी दिएका छन्।

त्यस्तै उर्जामन्त्री र गठबन्धनका साना दलहरुले संसदमा प्रस्तावको पक्षमा मतदान नगर्ने बताए।

तर सरकार छाड्ने पक्षमा भने नरहेको उनीहरुको भनाई छ। ग्रीसको निजामती संगठनले सहमतिप्रति विरोध जनाउन बुधवार २४ घण्टे हड्ताल घोषणा गरिसकेको छ।

बीबीसीका मार्क लोबेल भन्छन, “ग्रीसका थुप्रै जनता युरो समुहका मन्त्रीहरुले आफूहरुमाथि दबाब दिएको महसुस गरिरहेका छन्। तर प्रधानमन्त्री सीप्रासले अझै कडा कदमहरु आफूले रोक्न सफल भएको र अब मन्दी घट्ने बताएका छन्।”

उनका अनुसार कयौं मानिसहरु यो योजनाले पनि अर्थतन्त्रलाई त्राण दिएन भने आफूमाथि ऋणभार झन् थपिने हो कि भन्ने चिन्तामा छन्।बिबिसी नेपाली सेवाबाट

प्रकाशित : २९ असार २०७२, मंगलवार ०३:११