काभ्रे। जिल्ला सहकारी संघ लि. काभ्रेले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित मण्डनदेउपुर नगरपालिका–९, लाकुरेधारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ। शिविरमा १५० भन्दा बढी स्थानीय नागरिकले आँखा परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएका छन्।
२०८३ कार्तिक १४ गते शनिबार श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को वार्षिक साधारण सभाको अवसरमा आयोजित शिविरमा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोग रहेको थियो। जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा पञ्चकन्या सहकारी संस्थाको सहकार्यमा सञ्चालित कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
शिविरमार्फत सेवाग्राहीहरूको आँखाको अवस्था परीक्षण गर्नुका साथै आँखासम्बन्धी विभिन्न समस्याको पहिचान र आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। विशेषगरी स्थानीय स्तरमै आँखा परीक्षण सेवा उपलब्ध गराई ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा सहजता प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको थियो।
शिविरमा मोतिबिन्दुको समस्या पहिचान भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरिएको छ। जिल्ला सहकारी संघ लि. काभ्रे र रेयुकाई मासुनागा आँखा अस्पतालबीच भएको सम्झौताअनुसार पहिचान भएका मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ। यसबाट उपचार खर्च व्यहोर्न कठिनाइ हुने तथा अस्पतालसम्म पुग्न असहज हुने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला सहकारी संघ लि. काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी अभियानलाई समुदायको सामाजिक तथा मानवीय आवश्यकतासँग जोड्नु आवश्यक रहेको बताउनुभयो। उहाँले संघले सदस्य सहकारी संघ/संस्थाहरूसँगको सहकार्यमा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले आँखा स्वास्थ्यप्रति समयमै सचेत हुन सके विभिन्न समस्याको पहिचान र उपचार सहज हुने बताउँदै शिविरमा सेवा लिने नागरिकको सहभागिताले कार्यक्रमको उद्देश्य सार्थक भएको धारणा व्यक्त गर्नुभयो। साथै, कार्यक्रम सफल बनाउन सहकार्य गर्ने पञ्चकन्या सहकारी संस्था र प्राविधिक सहयोग उपलब्ध गराउने रेयुकाई मासुनागा आँखा अस्पतालप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सहकारी संस्थाहरूले आर्थिक तथा संस्थागत गतिविधिका अतिरिक्त समुदायको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा समेत योगदान दिनुपर्ने मान्यतालाई यस कार्यक्रमले व्यवहारमा उतारेको छ। जिल्ला सहकारी संघ लि. काभ्रेले आगामी दिनमा पनि सदस्य संस्थाहरूसँगको सहकार्यमा नागरिकको आवश्यकता र हितलाई केन्द्रमा राखेर यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





Comment