कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा घट्यो



काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३०.५८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.१३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १९.०२ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १२.५३ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज पनि ११ करोड ६ लाख रुपैयाँबाट घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसा बढेर १५ रुपैयाँ ७६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५८ गुणा र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ।

४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रकाशित : 28 October, 2026 11:49 am