प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई रुस्काज ब्यूटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई रुस्काज ब्यूटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट



काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको कमलादीस्थित रुस्काज ब्यूटी स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवामा विशेष छुट उपलब्ध हुने भएको छ। प्रभु बैंक र रुस्काज ब्यूटी स्टुडियोबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले स्टुडियोबाट उपलब्ध हुने हेयर कटिङ, थ्रेडिङ, हेयर केमिकल, फेसियल तथा स्किन ट्रीटमेन्ट, नेल, म्यानिक्योर–पेडिक्योर, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज र कस्मेटिक तथा स्किन केयर उत्पादनमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै, प्रभु बैंकका कर्मचारीले सोही सेवामा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एकमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्रसमेत प्रस्तुत गर्नुपर्नेछ।

सम्झौतामा रुस्काज ब्यूटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्का वैद्य श्रेष्ठ तथा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत (सीपीओ), बागमती प्रदेश–३ का प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंक कमलादी शाखाका अधिकृत राधा गुरुङ तथा रुस्काज ब्यूटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको पनि उपस्थिति थियो।

यस सम्झौतामार्फत बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्य सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्य रहेको प्रभु बैंकले जनाएको छ।

प्रकाशित : 2 October, 2026 12:52 pm