सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको ‘रिस्क सेयरिङ’ (जोखिम साझेदारी) सुविधासम्बन्धी सम्झौता भएको छ।

आईएफसीको ‘स्मल लोन ग्यारेन्टी प्रोग्राम’ (एसएलजीपी) अन्तर्गत भएको यस सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम कर्जाको ५० प्रतिशत जोखिम आईएफसीले वहन गर्नेछ। नेपालमा आईएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो । यस व्यवस्थाले देशभरका साना तथा मझौला उद्यमीहरूलाई कर्जा प्रवाह र विस्तार गर्न बैंकको क्षमतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ ।

सम्झौताबारे जानकारी दिँदै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले वर्तमान चुनौतीपूर्ण आर्थिक परिस्थितिमा यो साझेदारीले साना व्यवसायीहरूलाई सहज कर्जा प्रवाह गर्न सहयोग पुग्ने बताए । उनले विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न, रोजगारी सिर्जना गर्न र मुलुकको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

सिद्धार्थ बैंक र आईएफसीबीच सन् २०१४ देखि नै व्यावसायिक सहकार्य रहँदै आएको छ। यसअघि सन् २०२३ मा बैंकले आईएफसीमार्फत ५ करोड ५० लाख अमेरिकी डलरको सिन्डिकेटेड कर्जा सुविधा लिएको थियो। यसबाहेक बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा समेत आईएफसीसँग संस्थागत परामर्श सेवा लिँदै सहकार्यलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित : १४ आश्विन २०८३, बुधबार १३:५७ 30 September, 2026 1:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।