काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् । अर्थमन्त्री वाग्ले असोज १० गते एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।
वार्षिक बैठकले एआईआईबीको गभर्नर परिषद्का गभर्नरसमेत रहेका वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको थियो । क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएको हो । बैठकअन्तर्गत भएको ‘गभर्नर्स बिजनेस राउन्डटेबल’मा वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको महत्वपूर्ण आधार रहेको बताएका थिए । उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए ।
नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्नेमा समेत उनले जोड दिएका थिए ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरेका थिए ।
नेपाल एआईआईबीको उपसभापतिमा निर्वाचित भएसँगै पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच सहकार्यका थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।












Comment