काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न ३० अर्ब रुपैयाँ बराबरको ३० दिने निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै उक्त उपकरणका लागि २०८३ असोज १२ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने जनाएको छ। बोलकबोल ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत अनलाइन प्रणालीबाट मात्र सञ्चालन हुनेछ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेपका रूपमा संकलन गर्न लागेको हो। यसको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक ११ गते हुनेछ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकता दिइनेछ भने समान ब्याजदरका प्रस्ताव आएमा प्रो-राटा आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बोल रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। संकलित रकम बैंकहरूको लगानी पोर्टफोलियोमा रहने भएकाले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। भने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
उक्त उपकरणको तोकिएको भुक्तानी मितिअघि प्रि-म्याच्योर भुक्तानी हुने छैन। साथै, बोलपत्र स्वीकृत भएको संस्थाको खातामा निष्कासनका दिन पर्याप्त रकम नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न समय–समयमा निक्षेप संकलन उपकरणमार्फत रकम प्रशोचन गर्दै आएको छ।












Comment