पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणसँगै नेपालका पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन् ।

एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष जोउबीच भएको भेटवार्तामा नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारका विषयमा छलफल भएको हो ।

भेटमा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले एआईआईबीको प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताएकी छन् ।

साथै, स्पेसलाइज्ड फन्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उनले राखेकी छन् । एआईआईबीको संस्थापक सदस्य राष्ट्रका रूपमा नेपालसँगको सहकार्यलाई थप अघि बढाउने प्रतिबद्धता पनि अध्यक्ष जोउले व्यक्त गरेकी छन् ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् । एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पु¥याएको क्षतिप्रति पनि उनले दुःख व्यक्त गरेका छन् ।

मन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासमा एआईआईबीको स्रोत परिचालन गर्न आग्रह गरेका छन् । उनले बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गरी नेपालका पूर्वाधार आयोजनामा लगानी बढाउन आग्रह गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन् ।

प्रकाशित : 28 September, 2026 11:13 am