निप्पोन फर्मास्युटिकलको आईपीओ निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निप्पोन फर्मास्युटिकलको आईपीओ निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट नियुक्त



काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीस्थित निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ ।

कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीका अनुसार निप्पोन फर्मास्युटिकल विभिन्न अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत औषधि उत्पादन गर्दै आएको छ । कम्पनीको विधिवत् दर्ता २००६ मा भएको र उद्योग स्थापना २०१७ मा भएको हो ।

कम्पनीले २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको जनाएको छ । स्थापनाको चार वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याउन सफल भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार निप्पोन फर्मास्युटिकलले स्वदेशमै औषधि उत्पादनमार्फत औषधिमा आत्मनिर्भरता बढाउन योगदान गर्दै आएको छ ।

आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता बुधबार भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : 25 September, 2026 9:33 pm