काठमाडौ । माता सुमित्रा फिल्मको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक भएको छ। चलचित्रको शीर्षककै नाममा तयार पारिएको ‘टोकन बैना’ गीत Sayami Digital मार्फत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासोसमेत बढेको निर्माण पक्षले जनाएको छ।
गीतमा लोकप्रिय संगीतकार बाबुल गिरीको संगीत रहेको छ भने चर्चित गायक राजेशपायल राई र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्। चलचित्रको दृश्यलाई आकर्षक बनाउन छायांकनतर्फ दिनेश मुस्कान र डाईरेक्टर अफ फोटो ग्राफीमा (डिओपी) विक्रम डिसीको महत्वपूर्ण योगदान रहेको छ।
‘टोकन बैना’मा नेपाली चलचित्र क्षेत्रका परिचित तथा नयाँ पुस्ताका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा गौरव पहारी, अर्जुन गुरुङ, बुद्धि तामाङ, अम्बिका राई, उदय सुब्बा, फलित राई, सुस्मिता ध्लान, प्रीतिका शर्मा, महेन्द्र राई लगायतका कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ। कलाकारहरूको विविधतापूर्ण उपस्थितिले चलचित्रलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
चलचित्रको द्वन्द्व निर्देशन राजु किरातले गरेका छन् भने चलचित्रको निर्देशन उदय सुब्बाले गरेका हुन्। चलचित्रका निर्माता वेद बहादुर सुनुवार रहेका छन्। नेपाली समाज, सम्बन्ध र समसामयिक विषयवस्तुलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘टोकन बैना’लाई दर्शकमाझ नयाँ स्वाद दिने चलचित्रका रूपमा निर्माण पक्षले लिएको छ। विशेषगरी शीर्ष गीतमा स्थापित गायक–गायिकाको स्वर, बाबुल गिरीको संगीत तथा कविराज गहतराजको नृत्य संयोजनले गीतलाई आकर्षणको केन्द्र बनाएको छ।
चलचित्र आगामी मंसिर १८ गतेदेखि नेपालभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ। शीर्ष गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारलाई समेत तीव्रता दिइने निर्माण पक्षले जनाएको छ। चलचित्रप्रेमी दर्शकका लागि ‘टोकन बैना’ कस्तो कथावस्तु र प्रस्तुति लिएर आउँछ भन्ने कुरा भने प्रदर्शनपछि नै थप प्रस्ट हुनेछ। यस फ्लिमका वरिष्ठ सल्लाहकारका रुपमा कलाकार महेन्द्र राई रहेका छन ।









Comment