काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने भएको छ। बैंकको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे साधारणसभा गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरणसमेत सभाबाट अनुमोदन गरिनेछ।
त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ।
बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि अग्राधिकार शेयरतर्फको चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण शेयरधनीतर्फ भने चुक्ता पूँजीको १० प्रतिशत करसहित नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव रहेको छ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। उक्त संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावसमेत रहेको बैंकले जनाएको छ।
यसैगरी, गत आर्थिक वर्षमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाको एजेन्डामा समावेश गरिएको छ। साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बूक क्लोज गर्ने जनाएको छ।









Comment