काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दार्चुलाको महाकाली नगरपालिकामा ‘मनोविकास अभियान’ सुरु गरेको छ। मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोकथाम तथा प्रारम्भिक पहिचानका साथै पालिकाको मानसिक स्वास्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा अभियान सुरु गरिएको हो।
महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला तथा स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा वर्ल्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयरधनी अनुपा भण्डारी जालानले ‘मनोविकास अभियान’ कुनै एकल कार्यक्रम नभई व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोड्दै पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा प्रणाली सुदृढ गर्ने साझा प्रयास भएको बताइन्।
वर्ल्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साइकडेस्क फाउन्डेसनसँगको तीनवर्षे साझेदारीअन्तर्गत धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा ‘साइड वाक टक’ सञ्चालन गरिएको थियो।
यसैगरी, एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौंको कागेश्वरीमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको ‘मनोविकास अभियान’को अवधारणा तयार गरिएको वर्ल्डलिंकले जनाएको छ।
अभियानको कार्यक्षेत्रका रूपमा महाकाली नगरपालिका छनोट हुनुमा स्थानीयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति तथा सेवाको सीमिततासँगै नगरपालिकाले देखाएको नेतृत्व, इच्छाशक्ति र सहकार्यको प्रतिबद्धता महत्वपूर्ण आधार बनेको भण्डारी जालानले बताइन्।
दस महिनाको कार्यान्वयन अवधिमा सरकारी विद्यालयदेखि समुदायसम्म मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत विद्यार्थी र शिक्षकमार्फत विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकामार्फत वडास्तरमा प्रसूति तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यसम्बन्धी सहयोग र सचेतना अभिवृद्धि गर्ने तथा इन्टरनेटको जोखिम र सुरक्षासँग सम्बन्धित मानसिक स्वास्थ्य जोखिम न्यूनीकरणबारे विद्यार्थीलाई सचेत गराउने कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, नगरपालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा अनुमोदनमा सहजीकरण गर्ने लक्ष्यसमेत राखिएको छ। परियोजनाबाट करिब ३ हजार जना प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको भण्डारी जालानले बताइन्।
महाकाली नगरपालिकाको मानसिक स्वास्थ्य नीतिको पहिलो चरणको छलफल सम्पन्न भइसकेको छ। दोस्रो चरणको छलफल पनि सम्पन्न भएको साइकडेस्क फाउन्डेसनका संस्थापक तथा वरिष्ठ मनोविद् डा। नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।
उनका अनुसार नगरवासीको मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने व्यावहारिक तथा स्थानीय सन्दर्भअनुकूल नीति निर्माणमा छलफलले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वर्ल्डलिंकले अभियानका लागि महाकाली नगरपालिका र प्राविधिक सहजीकरणका लागि साइकडेस्क फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ। अभियानले समुदायमा आधारित, पहुँचयोग्य मानसिक स्वास्थ्य सेवा तथा नीति निर्माण र प्रणाली विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।









Comment