काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ ।
भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण संकलन गर्नुपर्ने महासंघको भनाइ छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्यांकन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।
मन्त्रालयले भदौ २६ गते मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।
समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, मन्त्रीको सचिवालय, यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर संघ–संगठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ र महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य रहेका छन् ।
मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधारसमेत तय गर्नेछ ।








Comment