काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। बिहीवार बसेको समितिको बैठकले विधेयकमाथि तयार पारिएको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
विधेयकको अध्ययन तथा प्रतिवेदन तयार गर्न समितिले उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले तयार पारेको प्रतिवेदनलाई समितिले अनुमोदन गरेको समिति सभापति हरि ढकालले जानकारी दिए।
सभापति ढकालका अनुसार समितिको प्रतिवेदन बिहीवार नै बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गरिनेछ। प्रतिवेदनलाई अन्तिम रूप दिन उनले समिति सचिवलाई निर्देशनसमेत दिएका छन्।
यसैबीच, समितिले राष्ट्रिय सेवा दल विधेयक अध्ययनका लागि २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारीसमेत हेरफेर गरेको छ। दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको समितिले जनाएको छ।
समितिका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम उपसमितिका सदस्यको जिम्मेवारी हेरफेर गरिएको हो।








Comment