हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच महिनाको अवधिमा ६ हजार बढी विदेशी पर्यटक हुम्लामा भित्रिएका छन् । वैशाखदेखि हालसम्म ६ हजार एक सय २५ जना विदेशी पर्यटक हुम्लामा भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । तीन हजार ५६ महिला र तीन हजार ६९ जना विदेशी पर्यटक जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर युवराज ढकालले बताए ।
हुम्लाको हिल्सा हुँदै पवित्र तीर्थस्थल मानसरोवर–कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्री यहाँ पुगेका हुन् । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने विदेशी तीर्थयात्री जिल्ला पुगेका हुन् ।
सदरमुकाम सिमकोट र चीनसँगको सीमाना हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको होटल व्यवसायीका अध्यक्ष मिम लामाले बताए । एउटा होटलले १० लाख रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एक–दुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम अहिलेसम्म चलिरहेको छ ।

भारतीय पर्यटक हुम्ला हुँदै कैलाश–मानसरोवर दर्शन गर्न जाने हुँदा यहाँका नागरिकले रोजगारी पाउनुका साथै सदरमुकाम सिमकोटसहित हिल्सा नाकामा रहेका होटल सञ्चालकले मनग्य आम्दानी गरिरहेका हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठदेखि विदेशी तीर्थयात्री यहाँ पुग्ने गरेका हुन् । उनका अनुसार होटल व्यवसायीमात्रै नभएर यहाँका अन्यले पनि रोजगारी पाएका छन् ।
सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएका छन् । भारतीय पर्यटकलाई प्रतिव्यत्ति एक हजार रुपैयाँ शुल्क उठाउँदै आएका छन् । जेठ, असार, साउन र भदौ महिना कैलाश–मानसरोवर दर्शन गर्ने उपयुक्त समय हो ।








Comment