सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहितको टोली स्थल मार्ग हुँदै चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो ।
पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफलमा सहभागी हुन नेपाली टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले जानकारी दिए । उनका अनुसार चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ । अन्य हिमाली जिल्लाका स्थानीय तहका प्रमुख समेत बैठकमा सहभागी भएका छन् ।
अपराध नियन्त्रणदेखि व्यापार सहजीकरणसम्म
छलफलमा नेपाल–चीन सीमा क्षेत्रमा हुनसक्ने अपराध तथा अवैध गतिविधि नियन्त्रण, सीमा क्षेत्रको शान्ति सुरक्षाको अवस्था, व्यापार सहजीकरण र सीमावर्ती हुम्लाका नागरिकको आवतजावतलगायत विषयमा छलफल भइरहेको छ ।
त्यसैगरी हुम्लाका सीमावर्ती नागरिकले गर्ने कैलाश मानसरोवर यात्रालाई सहज बनाउने विषयमा पनि चिनियाँ अधिकारीसँग छलफल हुने जनाइएको छ । सीमा क्षेत्रमा हुने आवतजावत तथा व्यापारिक गतिविधिलाई थप व्यवस्थित र सहज बनाउने विषयमा नेपाली पक्षले आफ्ना धारणा राख्नेछ। त्यस्तै सीमा क्षेत्रमा रहेका हिमतालका विशेष कुरा हुने भएको छ ।
नियमित समन्वय र सीमा बैठकमा जोड
छलफलका क्रममा नेपाल–चीन सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी हुने बताइएको छ । सीमा सुरक्षासँग सम्बन्धित विषयमा दुवै पक्षबिच नियमित समन्वय तथा सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने आवश्यकताबारे नेपाली पक्षले धारणा राख्नेछ ।
सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवतजावत, व्यापार तथा धार्मिक पर्यटनसँग जोडिएका विषयमा सहजीकरणका लागि स्थानीय तहमा दुई देशका अधिकारीबिच निरन्तर संवाद र समन्वय आवश्यक रहेको नेपाली पक्षको भनाइ छ।











Comment