काठमाडौं । नेकपा (एमाले) की सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले यस्तो घटना एउटा परिवारको मात्रै पीडा नभई स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिकै गम्भीर प्रश्न भएको बताइन् ।
उनले भनिन्, ‘पैसा तिर्न नसकेको कारण एक गर्भवती महिलालाई अस्पतालबाट निकालिदिन्छ र उनले अस्पतालको गेटबाहिर बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आउँछ भने यो केवल एउटा परिवारको पीडा होइन । हाम्रो स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिको गम्भीर प्रश्न हो । सरकारले नागरिकको जीवनभन्दा अस्पतालको बिललाई ठूलो बनाउने अवस्था अन्त्य गर्नुपर्छ । विपन्न गर्भवती र जोखिममा रहेका महिलाले उपचार नपाएर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुँदैन ।’
सांसद हमालले यस्ता घटनाको छानबिन र अस्पतालको लापरबाहीबारे प्रश्न उठाउँदा त्यसलाई सरकार गिराउने खेलका रूपमा राजनीतिकरण गर्ने प्रवृत्तिको पनि आलोचना गरिन् ।
‘अझ दुःखद कुरा यस्तो घटनाको छानबिन र अस्पतालको लापरबाहीबारे प्रश्न उठाउँदा सरकार गिराउने खेल भनेर विषयलाई राजनीतिकरण गरिन्छ । म सरकारलाई भन्न चाहन्छु, सरकारको आलोचना गर्नु सरकार गिराउने खेल होइन । नागरिकको जीवन बचाउन सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको संवैधानिक जिम्मेवारी हो । त्यहीँसैले म खबरदारी गर्न चाहन्छु,’ उनले भनिन् ।








Comment