भोटेकोशी विपद्को असर तीज बजारमा, व्यापार ३० देखि ५० प्रतिशतमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भोटेकोशी विपद्को असर तीज बजारमा, व्यापार ३० देखि ५० प्रतिशतमा सीमित



काठमाडौं । गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ । विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा गरगहनाको कारोबार विगतको तुलनामा अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।

तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष प्राकृतिक विपद् र देशको समग्र परिस्थितिका कारण उपभोक्ताको खर्च गर्ने क्षमता तथा पर्व मनाउने उत्साहमा कमी आएको व्यवसायीहरूको भनाइ छ ।

कलंकीमा कस्मेटिक व्यवसाय गर्दै आएका संगम मुस्कान मरासैनीले हामीसगँको कुराकानीमा यस वर्ष तीजका लागि नयाँ सामान ठूलो परिमाणमा आयात नगरिएको बताए । विगतमा आयात गरेर गोदाममा राखिएको स्टकबाटै अहिलेको माग धानिरहेको उनले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपद्का कारण कतिपय व्यापारीको ठूलो परिमाणको सामान बगाउँदा केही सामग्रीको आपूर्तिमा असर परेको छ । बाढीका कारण व्यापारिक सामानमा क्षति पुगेकाले केही वस्तुको अभाव देखिए पनि तीजमा बढी प्रयोग हुने चुरा, पोतेलगायतका सामग्रीमा भने तत्काल ठूलो समस्या नरहेको उनले बताए ।

‘तीजका लागि यसपटक नयाँ सामान ठूलो परिमाणमा ल्याइएको छैन । पहिले ल्याएर राखेको स्टकबाटै अहिले व्यापार भइरहेको छ,’ मरासैनीले भने । सामान्य अवस्थामा तीज नजिकिँदै गर्दा रातो कपडा, चुरा, पोते तथा अन्य शृंगार सामग्रीको माग बढ्ने भए पनि यसपटक बजारको समग्र अवस्थाले त्यसलाई प्रभावित गरेको उनले बताए । प्राकृतिक विपद्का कारण उपभोक्ताको प्राथमिकता दैनिक आवश्यकतामा केन्द्रित भएकाले चाडपर्व लक्षित गैरआवश्यक वस्तुको खरिदमा कमी आएको उनको भनाइ छ ।

यस वर्ष माग कम हुने अनुमानका कारण व्यवसायीहरूले नयाँ स्टक थप्नसमेत जोखिम नलिएको उनले बताए । बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा असर परे पनि चुरा, पोतेलगायत प्रमुख तीज सामग्रीको तत्काल अभाव हुने अवस्था भने नरहेको उनले स्पष्ट पारे ।

सुनको मूल्य महँगो भएकाले सुनका गहना खरिद गर्ने क्षमता घट्दा चुरा, पोते तथा कृत्रिम गहनाको व्यापार भने भइरहेको उनले बताए । तर प्राकृतिक विपद्का कारण देश शोकमा रहेकाले विगतमा जस्तो उत्साहपूर्ण रूपमा तीज मनाउने वातावरण नरहेको उनको भनाइ छ । मरासैनीका अनुसार अहिले चुरा, पोते तथा शृंगारका सामग्रीको व्यापार विगतको तुलनामा करिब ३० देखि ५० प्रतिशतमा सीमित भएको छ ।

‘अहिले सुनको भाउ छुन नसक्ने गरी महँगो भएको छ । त्यसैले यी गहनाहरूको बिक्री भइरहेको छ। तर पहिलाको जस्तो व्यापार छैन । अहिले देश नै शोकमा छ । त्यसकारण तीज पनि पहिलाको जस्तो उत्सवका रूपमा मनाइएको छैन। व्यापार ३० देखि ५० प्रतिशतजति मात्र छ,’ उनले भने ।

बाढी तथा विपद्का कारण आपूर्ति प्रणालीमा केही असर परे पनि भारतबाट आउने सामानको आपूर्ति भने पूर्ण रूपमा नरोकिएको उनले बताए । स्थलमार्ग तथा हवाई मार्गबाट सामान आइरहेको उनको भनाइ छ । तातोपानी नाका प्रभावित हुँदा त्यहाँबाट सामान ल्याउने कतिपय व्यापारीको सामग्री बाढीले बगाएकाले केही वस्तुको अभाव देखिएको उनले बताए ।

यस्तै, अर्की व्यवसायी रोनीका श्रेष्ठले गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै घटेको बताइन् । बाढी तथा पहिरोका कारण सामानको आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर व्यापारमा परेको उनको भनाइ छ ।

बजारमा चहलपहल घटेसँगै महँगा सामग्रीको बिक्री कम भएको र सस्ता सामग्रीको माग भने बढेको उनले बताइन् । ‘सामानहरू म बाहिरबाट ल्याउँछु । म होलसेलबाट सामान किन्ने गर्छु । अहिले पोहोर सालको भन्दा एकदम कम छ व्यापार। बाढी आएदेखि एकदम गाह्रो भइरहेको छ । व्यापार पहिले ठीक थियो, तर बाढी आएपछि अहिले एकदम घटिरहेको छ । पहिरोले गर्दा सामानहरू नै परिरहेको छ,’ उनले भनिन् ।

श्रेष्ठका अनुसार अहिले ग्राहकले महँगा तथा गोल्ड प्लेटेड सामग्रीभन्दा चुरा, पोतेलगायत सस्ता सामग्री बढी रुचाउने गरेका छन् । गत वर्षको तुलनामा बजारमा चहलपहल कम भएकाले महँगा सामग्रीको बिक्रीमा गिरावट आएको उनले बताइन् । ‘अहिले चुरा–पोतेजस्तो सस्तो–सस्तो आइटम धेरै बिक्री हुन्छ । गोल्ड प्लेटेडहरू अहिले एकदम कम भइरहेको छ । पोहोर सालको जस्तो चहलपहल छैन । बाढीपछि झन् धेरै कम छ । त्यसैले अहिले जाने भनेको सस्तो–सस्तो आइटम नै धेरै हो,’ उनले भनिन् ।

होलसेल बजारमै पर्याप्त सामान नआउँदा त्यसको असर खुद्रा व्यापारमा समेत परेको श्रेष्ठले बताइन् । यस्तै, कुर्था तथा महिला र बालबालिकाका कपडा व्यवसायी अपेक्ष ढुङ्गेलले यस वर्ष व्यापारिक अवस्था कमजोर रहेको बताइन् । गत वर्षको तुलनामा यस वर्ष आफ्नो व्यवसायको कारोबार २५ प्रतिशत पनि हुन नसकेको उनको भनाइ छ ।

‘देशमै शोक परेको अवस्थामा व्यापार भएन भन्न पनि मिल्दैन । तर आफूले गरेको लगानीअनुसार प्रतिफल नहुँदा व्यापारीलाई पीडा हुन्छ । अहिले व्यापार एकदमै डाउन छ,’ ढुङ्गेलले भनिन् ।

उनका अनुसार बजारमा मानिसहरूको चहलपहलसमेत घटेको छ । ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएको र धेरै परिवार शोकमा रहेका कारण सामान्य अवस्थाजस्तो बजार घुम्ने तथा किनमेल गर्ने वातावरण बन्न नसकेको उनले बताइन् । ‘मान्छेहरू नै हराइरहेको अवस्थामा आफन्तहरू बजार घुम्न आउने कुरा भएन। म आफैं पनि नुवाकोटको भएकाले मनमा पीडा छ । व्यवसायमा भएकाले काम गरिरहेको छु, तर बजार पनि त्यति चलायमान छैन,’ उनले भनिन् ।

करिब ६ वर्षदेखि व्यवसाय गर्दै आएकी ढुङ्गेलले विगतको तुलनामा यस वर्ष व्यापारको अवस्था कमजोर बनेको बताइन् । तीजलाई लक्षित गरेर व्यवसायीहरूले हरेक वर्ष रातो तथा गुलाबी रंगका साडी, कुर्तालगायतका कपडा ठूलो परिमाणमा ल्याउने गरेका हुन्छन् । तर यस वर्ष तीज कार्यक्रम तथा सामूहिक दर खाने कार्यक्रमहरूमा कमी आएकाले परम्परागत तीज पहिरनको मागसमेत घटेको उनले बताइन् ।

उनका अनुसार आफ्नो व्यवसायले भारतबाट प्रत्यक्ष रूपमा कपडा ल्याउने भएकाले यस वर्ष तीज लक्षित रातो–गुलाबी कपडाको पर्याप्त स्टक राखिएको थियो । तर अपेक्षित ग्राहक नआएपछि थोक बिक्रीसमेत प्रभावित भएको उनले बताइन् ।

‘हामीले तीजका लागि रेड–पिंक टेस्टमै टन्नै सामान झारेका थियौँ । तर यसपालि होलसेल पनि बेच्न सकेनौँ। ग्राहकहरू नै आइरहनुभएको छैन,’ उनले भनिन् । तीज नजिकिँदै गर्दा बजारमा शृंगारका सामग्री, कपडा तथा गरगहनाको माग बढ्ने अपेक्षा गरिए पनि यस वर्ष व्यवसायीहरूको अनुमानअनुसार कारोबार हुन सकेको छैन । हालैको बाढी तथा अन्य विपद्का कारण उपभोक्ताको प्राथमिकता फेरिनु, आपूर्ति प्रणालीमा परेको असर र देशमा देखिएको शोकको अवस्थाले तीज लक्षित बजारलाई प्रभावित गरेको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित : 13 September, 2026 12:32 pm