काठमाडौं । बजारमा एलपी ग्यासको सहज उपलब्धता हुन नसक्दा उपभोक्ताले सास्ती खेपिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
मन्त्रालयका अनुसार ग्यासको आपूर्ति र वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधानका उपाय खोज्ने उद्देश्यले मन्त्री साहले आज साँझ ५ बजे उद्योगी तथा सरोकारवालालाई छलफलका लागि बोलाएका हुन्।
पछिल्ला दिनमा ग्यास खरिदका लागि उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपरेको, कतिपय क्षेत्रमा ग्यास सहज रूपमा उपलब्ध नभएको तथा बजारमा कालोबजारीसम्बन्धी गुनासो बढेपछि मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो।
छलफलका क्रममा बजारमा ग्यासको वास्तविक अवस्था, आपूर्ति व्यवस्थापन, वितरण प्रक्रियामा देखिएका अवरोध तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार उद्योगीहरूले बैठकमा ग्यासको वर्तमान अवस्था र वितरणमा देखिएका व्यावहारिक समस्याबारे मन्त्रीसमक्ष आफ्नो धारणा राख्नेछन्।
उनले बजारमा देखिएको समस्याबारे छलफल गर्न मन्त्रीले उद्योगीहरूलाई बोलाएको जानकारी दिँदै आपूर्ति तथा वितरणलाई सहज बनाउने विषयमा गम्भीर छलफल हुने बताए।
चन्दका अनुसार बजारमा ग्यासको अवस्था र वितरणबारे सुरक्षा निकाय तथा वाणिज्य विभागको संयुक्त टोलीले अनुगमनसमेत गरिरहेको छ। तर अनुगमनसँगै वितरण प्रक्रियामा रहेका वास्तविक समस्या पहिचान गरी त्यसको समाधान गर्नुपर्ने आवश्यकता रहेको उद्योगीहरूको भनाइ छ।
उद्योगीहरूका अनुसार ग्यासको आपूर्ति नियमित रहे पनि वितरण प्रणालीमा हुने अवरोध, बजार व्यवस्थापनमा देखिएका कमजोरी तथा अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताले समस्या भोग्नुपरेको हो।
मन्त्रालयसँग हुने छलफलपछि ग्यासको आपूर्ति तथा वितरणलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।








Comment