काठमाडौं । नेपाल पर्यटन बोर्डले रिक्त रहेको कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ। नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम स्थापित बोर्डले सूचना प्रकाशित गर्दै कार्यकारी प्रमुख पदपूर्तिका लागि आवेदन माग गरेको हो।
बोर्डका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र आवेदन बुझाउन सकिनेछ।
कार्यकारी प्रमुख पदका लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी, प्रचलित कानूनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ।
आवेदनसँग के–के कागजात चाहिन्छ ?
आवेदन पेस गर्दा उम्मेदवार स्वयंले प्रमाणित गरेका आवश्यक शैक्षिक तथा अन्य प्रमाणपत्रका प्रतिलिपि संलग्न गर्नुपर्नेछ। त्यसबाहेक ३ हजार शब्दमा नबढ्ने रणनीतिक कार्ययोजना र १ हजार शब्दमा नबढ्ने उल्लेखनीय उपलब्धिसम्बन्धी प्रतिवेदन समेत पेस गर्नुपर्नेछ। विभागीय उम्मेदवारका हकमा सम्बन्धित निकायको विभागीय स्वीकृति पत्र पनि अनिवार्य गरिएको छ।
आवेदन दस्तुरबापत उम्मेदवारले १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको सम्बन्धित खातामा जम्मा गरी बैंक भौचर आवेदनसँगै पेस गर्नुपर्ने बोर्डले जनाएको छ।
कहाँ बुझाउने आवेदन ?
दरखास्त फाराम तथा आवश्यक कागजातहरू नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिनेछ।
बोर्डले तोकेको व्यवस्थाअनुसार आवश्यक कागजात इमेलमार्फत पठाएर समेत आवेदन दिन सकिनेछ। पदका लागि आवश्यक योग्यता, आवेदन प्रक्रिया, कागजात तथा अन्य विस्तृत जानकारी नेपाल पर्यटन बोर्डको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।









Comment