काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ठूलो रकम खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्न लागेको हो।
राष्ट्र बैंकले भदौ २६ गते निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको जनाएको छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरसमेत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। अधिकतम सीमा भने कुल आह्वान रकमसम्म हुनेछ। बोलकबोल गरिएको रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैंकले जारी गर्न लागेको यो निक्षेप संकलन उपकरणको अवधि ५६ दिन रहेको छ। उक्त उपकरणको साँवा तथा ब्याज आगामी कात्तिक २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि राष्ट्र बैंकले निक्षेप संकलनलगायत उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।









Comment