काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा उनलाई रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। साहको मन्त्री नियुक्तिसम्बन्धी सिफारिस पत्र राष्ट्रपति कार्यालय, शीतल निवासमा पुगिसकेको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने प्रावधान छ। सोहीअनुसार प्रधानमन्त्री शाहले साहलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन्।
यसअघि आजै गौरी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामापछि मन्त्रालय रिक्त भएको थियो। राष्ट्रपति कार्यालयका अनुसार साहको पद तथा गोपनीयताको शपथ आजै साँझ साढे ५ बजे हुने तय भएको छ।









Comment