रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत तथा पुनःस्थापना कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत तथा पुनःस्थापना कार्यक्रम



काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेका छन् ।

दुवै संस्थाले बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकता पूरा गर्नुका साथै सुरक्षित आवास, पुनःस्थापना र दीर्घकालीन सामुदायिक उत्थानशीलतामा केन्द्रित रहेर बहुचरणमा कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।

कार्यक्रमको पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ । राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु समावेश गरिएको छ । राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पु¥याउन थालिएको जनाइएको छ ।

स्थानीय प्रशासनसँगको समन्वयमा नुवाकोट र रसुवामा एक–एक वटा राहत शिविर स्थापना गरिनेछ । शिविरमा प्रभावित समुदायका लागि दैनिक भोजन, स्वच्छ खानेपानी तथा सरसफाइको व्यवस्था गरिनुका साथै बालबालिकाका लागि सुरक्षित स्थानसमेत उपलब्ध गराइनेछ ।

त्यस्तै, चौधरी फाउन्डेसन र नबिल बैंकले धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि सरकार तथा स्थानीय तहसँगको सहकार्यमा ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्ने योजना अघि सारिएको छ । स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।

अस्थायी आवास एकाइ नेपालमा भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रविधिमा आधारित हुने बताइएको छ । साथै, प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ ।

दीर्घकालीन कार्यक्रमअन्तर्गत संक्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गर्ने योजना पनि अघि सारिएको छ ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनःस्थापना र जनस्वास्थ्य तयारीसम्मका काममा प्रतिबद्ध रहेको बताए ।

‘हाम्रो तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु हो । तर हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन,’ उनले भने, ‘उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनःस्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ ।’

प्रकाशित : 29 August, 2026 2:03 pm