नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त




काठमाडौं । नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी दिएको छ। सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले अवस्थीलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेका अवस्थीले लामो समयदेखि नबिल बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका उनले त्यसयता बैंकका विभिन्न विभागमा रहेर काम गरेका थिए।
अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले हार्वर्ड बिजनेस स्कुलबाट रणनीतिसम्बन्धी कोर्ससमेत पूरा गरेका छन्।
बैंकिङ क्षेत्रमा विशेषगरी अपरेसन, जोखिम व्यवस्थापन र कर्जा व्यवस्थापनमा उनको अनुभव रहेको छ। विभिन्न विभागमा काम गरेको अनुभवसँगै व्यवस्थापकीय दक्षता हासिल गरेका अवस्थीलाई नायब सीईओको जिम्मेवारी दिइएको हो।
नयाँ जिम्मेवारीसँगै अवस्थीको अनुभव र व्यवस्थापकीय दक्षता बैंकको सञ्चालनलाई थप प्रभावकारी बनाउन तथा आगामी व्यावसायिक रणनीति कार्यान्वयनमा उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रकाशित : 25 August, 2026 11:11 am