काठमाडौं । नेपालमा सवारीसाधनको सबैभन्दा ठूलो प्रदर्शनी मानिने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने अटो शोमा दुई सयभन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी कुल ५३ वटा सवारी ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ ।
तर यसपटकको अटो शोको आकर्षण नयाँ गाडीमा मात्र सीमित हुने छैन । प्रदर्शनीमा करिब ७० वटा कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन तथा बिक्रीका लागि राख्नेछन् ।
त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा र विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनासहित प्रदर्शनीमा सहभागिता जनाउनेछन् । आयोजकका अनुसार उपभोक्ताले गाडी किन्दा केही हप्ता सोरुम धाउने गरे पनि त्यसपछिका वर्षहरू वर्कसप, बैंक, बीमा कम्पनी तथा टायर पसलसँग जोडिनुपर्ने हुन्छ । त्यसैले गाडी खरिदसँगै त्यसको सञ्चालन, मर्मतसम्भार, बीमा र वित्तीय व्यवस्थापनबारे आवश्यक जानकारी एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले प्रदर्शनीलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।
अटो शोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको छ । यसले उपभोक्तालाई नयाँ सवारीसाधन हेर्नुका साथै गाडी किनेपछि आवश्यक पर्ने सेवा तथा सामग्रीबारे समेत जानकारी लिन सहज बनाउने आयोजकको भनाइ छ ।
यसपटकको प्रदर्शनीमा विभिन्न देशका सवारी ब्रान्डको उल्लेख्य सहभागिता रहनेछ । युरोपेली इन्जिनियरिङसहितको स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन, चिनियाँ चेरीअन्तर्गतका ओमोडा र जेकु तथा जीडब्ल्यूएम लगायतका ब्रान्ड सहभागी हुनेछन् । जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एउटै प्रदर्शनीस्थलमा देख्न पाइनेछ ।
विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्रवद्र्धन गर्न ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियनसमेत निर्माण गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शो गाडीले भरिएको प्रदर्शनी मात्र नभएको बताउनुभयो । उहाँका अनुसार सवारीसाधनलाई वर्षौंसम्म सडकमा गुडाउन आवश्यक पर्ने पार्ट्स, उपकरण, वित्तीय सेवा, बीमा तथा अन्य अटोमोबाइल व्यवसाय पनि उद्योगको महत्वपूर्ण हिस्सा हो ।
पचास वर्षअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठामै सीमित हुने गरेको स्मरण गर्दै उहाँले अहिले तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्नु गाडीको संख्या बढेको मात्र नभई समग्र अटोमोबाइल उद्योग नै विस्तार भएको प्रमाण भएको बताउनुभयो । यस वर्षको नाडा अटो शोले नयाँ गाडीको छनोटदेखि खरिदपछिको सेवा, वित्तीय व्यवस्थापन र मर्मतसम्भारसम्मका विषयलाई एउटै छानामुनि ल्याउने आयोजकको दाबी छ । प्रदर्शनी भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।


Comment