ह्याकर्सबाट कसरी सुरक्षित राख्ने आफ्नो अकाउण्ट ? जान्नुहोस् ५ टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ह्याकर्सबाट कसरी सुरक्षित राख्ने आफ्नो अकाउण्ट ? जान्नुहोस् ५ टिप्स



सोसल मिडियादेखि लिएर इ कमर्श कम्पनी तथा नेटवर्किंग जस्ता कामका लागि तिव्र रुपमा इन्टरनेटको प्रयोग भैरहेको छ ।
सबैखाले अनलाइन अकाउन्टहरु पासवर्डबाटै सुरक्षित राखिएको हुन्छ । यी अनलाइन अकाउन्टमा महत्वपूर्ण डाटा स्टोर भएका हुन्छन् । सोही कारण ती डाटाको सुरक्षाका लागि अकाउन्ट सुरक्षित हुनु अत्यावश्यक हुन्छ । आफ्नो अकाउन्टलाई सुरक्षित राख्न यी उपाय अपनाउनु लाभदायक हुनसक्छः

१. उपयुक्त पासवर्ड छान्नुहोस्ः साधारणतया धेरै गाह्रो तथा लामो पासवर्डलाई राम्रो मानिन्छ, किनकी ह्याकरले उक्त पासवर्डको भेउ पाउन सक्दैन । तर आफ्नो बच्चाको नाम, जन्मदिन तथा अन्य व्यक्तिगत सार्वजनिक जानकारीका आधारमा पासवर्ड नबनाउनुहोस् । किनकी ह्याकरले सोही आधारमा तपाइँको पासवर्ड जुराएर ह्याकिंग गर्ने प्रयास गरिरहेको हुन्छ । १२३४५६७८ वा password जस्ता सजिलो पासवर्ड पनि नराख्नुस् । यो धेरैले अनुमान गर्ने र सजिलै ह्याक हुने जोखिम हुन्छ । लेटर, नम्बर तथा क्यारेक्टरको प्रयोग गरेर बलियो पासवर्ड तयार गर्नुहोस् र सोही बलियो पासवर्ड प्रयोग गर्नुहोस् ।

२ एउटै पूरानो पासवर्ड बारम्बार प्रयोग नगर्नुहोस्ः तपाइँले अलग अलग अकाउन्ट फरक फरक पासवर्ड प्रयोग गर्नुहोस् । एउटै पूरानो पासवर्ड सबै अकाउन्टमा प्रयोग नगर्नहोस् । यस्तोमा यदि ह्याकरले एउटा अकाउन्टको पासवर्ड पत्ता लगायो भने तपाइँका सबै अकाउन्ट ह्याक गर्न सक्दछ । त्यस्तै पूरानो पासवर्ड पटक पटक प्रयोग नगर्नुस् ।

३. नियमित रुपमा बदल्नुस् नयाँ पासवर्डः पासवर्ड बदलिरहन जरुरी हुन्छ । जस प्रकारले तपाइँले केही महिनामै नयाँ टुथब्रस किन्नुहुन्छ त्यसै प्रकारले अकाउन्टको पासवर्ड बदल्नुपर्छ । यदि कुनै अकाउन्टमा तपाइँले लामो समयसम्म एउटै पासवर्ड राख्नुभयो भने त्यो ह्याक हुने जोखिम बढेर जान्छ । तर यसो भन्दैमा हप्ता दिनमै बारम्बार पासवर्ड बदलिरहनु पनि हुँदैन । जसले गर्दा तपाइँले कमजोर पासवर्ड छान्ने र त्यो ह्याकरको हातमा पर्ने जोखिम हुन्छ ।

४. लगइन गर्न जटिल पार्नुहोस्ः मल्टिफ्याक्टर आइडेन्टिफिकेसनमा प्रयोगकर्तालाई पहिचानका लागि केही अन्य जानकारीहरु थप गर्नुपर्ने हुन्छ । जस्तै मोबाइलमा पठाइने वन टाइम पासवर्ड । यदि तपाइँले यो फिचर हाल्नुभयो भने ह्याकरले तपाइँको पासवर्ड चोर्यो भनेपनि केही लछारपाटो लगाउन सक्दैन । किनकी अकाउन्ट लगइन गर्नका लागि उसलाई तपाइँको मोबाइलमा आउने वन टाइम पासवर्ड पनि चाहिन्छ । नयाँ डिभाइस तथा नयाँ ठाउँबाट अकाउन्ट लगइन गर्दा यस्तो वन टाइम पासवर्ड हाल्नु आवश्यक हुने फिचर तपाइँ अकाउन्टमा हाल्न सक्नुहुन्छ । फेसबुक, जिमेल लगायतका कैयन साइटले यो सुविधा उपलब्ध गराउने गरेका छन् ।

५. अनावश्यक अकाउन्ट बन्द गर्नुहोस्ः जो अकाउन्ट तपाइँले प्रयोग गर्नुहुन्न त्यसलाई डिलिट गर्नुहोस् वा डिएक्टिभेट गर्नुहोस् । स्पामले भरिएको इमले अकाउन्ट छ भने पनि त्यसलाई बन्द गरिदिनुहोस् । केही समयअघि माइस्पेसमा सन् २०१३ अघि खोलिएका अकाउन्टका लगइन जानकारीहरु ह्याकरले बिक्रिमा राखेको समाचार आएको थियो । त्यसैले यस्ता प्रयोगमा नरहेका साइटका अकाउन्टहरु छन् भने तपाइँले बन्द गरिहाल्नुपर्छ । ता की तपाइँका व्यक्तिगत जानकारीहरु ह्याकरसम्म नपुगुन् । एजेन्सी

प्रकाशित : १४ असार २०७४, बुधबार १०:४९