आइएमई लाइफको नवौँ वार्षिकोत्सवमा ‘न्यानो नानी’ वितरण सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आइएमई लाइफको नवौँ वार्षिकोत्सवमा ‘न्यानो नानी’ वितरण सम्झौता



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्दै नवजात शिशुका लागि प्रयोग हुने ‘न्यानो नानी’ बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गर्ने सम्झौता गरेको छ।

कम्पनीले भदौ १ गते नवौँ वार्षिकोत्सव मनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलका अनुसार कार्यक्रममार्फत समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। रक्तदानले अस्पतालमा हुने रगत अभाव न्यूनीकरण, वृक्षारोपणले वातावरण संरक्षण तथा खाद्यान्न वितरणले विपन्न परिवारलाई राहत पुर्‍याउने कम्पनीको विश्वास छ।

वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफ र राष्ट्रिय आविष्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर) बीच ‘न्यानो नानी’ बेबी वार्मर वितरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ। समय नपुगी जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग हुने यो उपकरण विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधाबाट टाढा रहेका क्षेत्रमा उपयोगी मानिन्छ।

सहकार्यको पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ हस्तान्तरण गरिने कम्पनीले जनाएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा न्यून पहुँच भएका क्षेत्रमा नवजात शिशुको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

कम्पनीका अनुसार उपकरणहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्थामा जडान गरिनेछन्। यसबाट नवजात शिशुको स्वास्थ्य संरक्षण, शिशु मृत्युदर न्यूनीकरण तथा आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सीएसआर नीतिअन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रम आगामी दिनमा अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले बताए। आइएमई लाइफले यसअघि पनि सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

नौ वर्षको यात्रामा कम्पनीले सर्वसुलभ बीमा पहुँच, छिटोछरितो दाबी भुक्तानी र ग्राहककेन्द्रित सेवामार्फत विश्वास आर्जन गरेको जनाएको छ। देशभरको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय जीवन बीमा सेवा विस्तार गर्दै वित्तीय सुरक्षा र राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता छ।

प्रकाशित : 17 August, 2026 10:32 pm