काठमाडौं । टेक्सास एजुकेसन नेटवर्कले ‘साइन्स एण्ड आइटी एक्जिबिसन २०८३’ आयोजना गर्ने भएको छ। मंसिर २३ देखि २५ गतेसम्म चावहिलस्थित मित्रपार्कमा रहेको कलेज परिसरमा सञ्चालन हुने प्रदर्शनीमा १५० भन्दा बढी विद्यालय तथा कलेजबाट २० हजारभन्दा बढी विद्यार्थी तथा सहभागीको उपस्थिति रहने आयोजकको अपेक्षा छ।
एक्जिबिसनमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीनतम परियोजना, रोबोटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रत्यक्ष प्रदर्शन र विद्यार्थीका विशेष प्रस्तुति रहनेछन्। प्रदर्शनीमा सहभागी सबै विद्यार्थी तथा आगन्तुकका लागि निःशुल्क प्रवेश र खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
विशेषगरी कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको एक्जिबिसनले पाठ्यपुस्तकमा अध्ययन गरेका सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनका प्रयोगात्मक अभ्याससँग जोड्ने उद्देश्य राखेको छ। आफ्ना परियोजना आफैँ निर्माण गरी प्रस्तुत गर्दा विद्यार्थीले सक्रिय रूपमा सिक्ने, विज्ञान तथा प्रविधिप्रतिको बुझाइ विस्तार गर्ने, आत्मविश्वास बढाउने र प्रत्यक्ष अनुभवमार्फत नवप्रवर्तनको भावना विकास गर्ने आयोजकको विश्वास छ।
प्रयोगात्मक प्रदर्शन तथा प्रत्यक्ष प्रस्तुतिमार्फत जटिल वैज्ञानिक र प्राविधिक अवधारणा सहज रूपमा बुझाउन एक्जिबिसनले सहयोग पुर्याउनेछ। यसअन्तर्गत विद्यार्थीले कक्षाकोठामा अध्ययन गरेका विज्ञान तथा सूचना प्रविधिका विषयलाई आफैँ हेर्न, चलाउन र जिज्ञासा राख्न सकिने कार्यरत नमुनासँग जोड्न पाउनेछन्।
त्यस्तै, टेक्सास एजुकेसन नेटवर्कका विद्यार्थीले आफ्ना परियोजनाको प्रस्तुति दिँदै तिनको निर्माण प्रक्रिया र प्रविधिबारे जानकारी दिनेछन् । उपत्यकाका १५० भन्दा बढी विद्यालयका विद्यार्थी तथा शिक्षकलाई सहभागी गराई अन्तरविद्यालय सिकाइ तथा नवप्रवर्तनको अनुभव आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भैरवराज पोखरेलले जानकारी दिए ।
प्रएक्जिबिसनमा विद्यार्थीले डिजाइन तथा प्रोग्राम गरेका रोबोट र स्मार्ट उपकरण प्रत्यक्ष सञ्चालन गरेर देखाइनेछ। साथै, विभिन्न रोचक विज्ञान तथा सूचना प्रविधिसम्बन्धी अन्तरक्रियात्मक खेलमा सहभागी भई विद्यार्थीहरूले आकर्षक पुरस्कारसमेत जित्न सक्नेछन्।
एक्जिबिसनमा स्मार्ट पार्किङ प्रणाली, बिरामीको स्वास्थ्य अनुगमन प्रणाली, आईओटीमा आधारित विपद् अनुगमन तथा पूर्वचेतावनी प्रणाली, बोलिबाट सङ्केत भाषा अनुवादक प्रणाली, रिसाइकल भेन्डिङ मेसिन, दुई अक्षमा घुम्ने सौर्य एमपीपीटी तथा ग्रिड प्राथमिकता निर्धारकजस्ता परियोजना प्रस्तुत गरिने नेटर्वकका प्रबन्ध निर्देशक तथा प्रदर्शनी मूल आयोजक समिति संयोजक जितेन्द्र कुमार बाबुले बताए ।






प्रतिक्रिया