काठमाडौं । नाडा अटो शो-२०२६ आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने यस वर्षको प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवसँगै १८औँ संस्करण तथा स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गर्न लागिएको हो।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन तथा अटोमोबाइलसम्बन्धी उत्पादनसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारी साधन, पार्टपुर्जा र अन्य सामग्रीलाई समेत प्राथमिकताका दिइने जनाईएको छ ।
नाडाका अनुसार प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार तथा भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारी साधन तथा १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक सहभागी हुनेछन्।
त्यस्तै, करिब ७० वटा स्टलमा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन र सेवा प्रदर्शन गरिनेछ।
यस वर्षको नाडा अटो शो मा नेपालमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल तथा अटोमोटिभ सामग्रीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा नेपालमै उत्पादन भएको ‘यात्री’ ब्रान्ड, नेपालमा एसेम्बल भएका विभिन्न स्कुटर तथा मोटरसाइकल, स्वदेशमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स, हेलमेट तथा विभिन्न अटो कम्पोनेन्टहरू प्रदर्शन गरिनेछन्।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले एक्स्पोमा नेपालमै एसेम्बल भएका विभिन्न ब्रान्डका सवारी साधनदेखि स्वदेशी रूपमा उत्पादन भएका अटोमोबाइलसम्बन्धी सामग्रीसम्म प्रदर्शन गरिने जानकारी दिए।
स्वदेशी उत्पादनको सहभागिताले नेपाल अटोमोबाइल क्षेत्रमा आयातमा निर्भर नरही क्रमशः आत्मनिर्भरता र स्वदेशी औद्योगिक उत्पादनतर्फ अघि बढिरहेको सन्देश दिने उनको भनाइ छ ।
उप्रेतीले नेपालमा अटोमोबाइल उत्पादनको सम्भावना विस्तार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा नेपालमै अटोमोबाइल उत्पादन सम्भव हुने आधार निर्माण भइरहेको बताए।
यस वर्षको नाडा अटो शोमा नेपाली अटोमोबाइल बजारमा भइरहेको तीव्र परिवर्तनलाई विशेष रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ। विशेषगरी विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षण, नयाँ प्रविधि, दिगो गतिशीलता तथा विश्वस्तरीय नवीनतम उत्पादनलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ।
प्रदर्शनीको उद्देश्य उपभोक्तालाई बजारमा उपलब्ध नयाँ सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाबारे प्रत्यक्ष जानकारी गराउनुका साथै अटोमोबाइल कम्पनी, ग्राहक र व्यावसायिक सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने रहेको नाडाले जनाएको छ।
पछिल्लो समय शिथिल बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन नाडा अटो शोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ। नाडाका अध्यक्ष उप्रेतीले प्रदर्शनीले उपभोक्तामा उत्साह बढाउनुका साथै अटोमोबाइल क्षेत्रमार्फत समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
यस वर्ष नाडाले आफ्नो ५०औँ वार्षिकोत्सव मनाउँदैछ। त्यसैले १८औँ नाडा अटो शो नाडाको स्वर्ण उत्सवसँग जोडिएको विशेष संस्करणका रूपमा आयोजना गरिँदैछ।
अध्यक्ष उप्रेतीले नाडाको ५० वर्षे यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार तथा नीतिगत सुधारसँग जोडिएको महत्वपूर्ण इतिहासका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार स्वर्ण वर्षसँगै आयोजना हुने यस वर्षको अटो शो नेपालको निजी क्षेत्र र अटोमोबाइल उद्योगका लागि समेत ऐतिहासिक कोशेढुंगा बन्नेछ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब दुई लाख आगन्तुकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। ठूलो संख्यामा उपभोक्ता तथा व्यवसायिक सरोकारवालाको सहभागिताबाट बजारमा नयाँ उत्साह सिर्जना हुने नाडाको विश्वास छ।
यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजक एच.पी. लुब्रिकेन्ट्स रहेको छ।
नाडाका अनुसार प्रदर्शनीमा स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्पादन, विद्युतीय तथा परम्परागत सवारी साधन, अटोमोबाइल प्रविधि, पार्टपुर्जा, एसेसरिज, वित्तीय तथा बीमा सेवासहित अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विविध उत्पादन र सेवाहरू एउटै थलोमा हुनेछन्।


Comment