नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार भूमिराज खड्कालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार भूमिराज खड्कालाई



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यस वर्षको ‘नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार’ एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था (साकोस) का अध्यक्ष भूमिराज खड्कालाई प्रदान गरेको छ।

नेफ्स्कूनको ३९औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

नेपालको सहकारी क्षेत्रमा लामो समयदेखि सक्रिय खड्का अनुभवी, प्रतिबद्ध र नेतृत्वदायी व्यक्तित्वका रूपमा परिचित छन्। सुशासन, सदस्य सेवा, वित्तीय अनुशासन तथा सहकारी अभियानको सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका खड्का २०५६ सालदेखि निरन्तर सहकारी क्षेत्रमा सक्रिय छन्। उनले जिल्ला तहका सहकारी संघहरूमा समेत नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएका छन्।

खड्काले २०६२ देखि २०६४ सालसम्म जिरीको आकाशदीप बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २०६४ देखि २०६७ सालसम्म फ्रेण्डसिप साकोसको उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। २०७२ देखि २०७५ सालसम्म सोही संस्थाको उपाध्यक्ष रहेका खड्का हाल संस्थाको अध्यक्षका रूपमा निरन्तर नेतृत्व गरिरहेका छन्।

उनको नेतृत्वमा संस्थागत विकास, सुशासन, वित्तीय अनुशासन, सदस्य सेवा विस्तार, दिगो विकास तथा सहकारीका मूल्य–मान्यताको संरक्षणमा सक्रिय पहल हुँदै आएको छ।

त्यस्तै, खड्काले दुई कार्यकाल दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। हाल उनी सोही संघको अध्यक्षका रूपमा जिल्लाको बचत तथा ऋण सहकारी अभियानलाई अघि बढाउन सक्रिय छन्।

स्पष्ट वक्ता तथा सहकारिताका मूल्य–मान्यतालाई आत्मसात् गर्दै आएका खड्काले सहकारी क्षेत्रमार्फत सदस्य तथा समुदायको आर्थिक र सामाजिक रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्दै आएका छन्। उनको लामो समयदेखिको सक्रियता, नेतृत्व र योगदानको कदरस्वरूप नेफ्स्कूनले संस्थापक अध्यक्ष पुरस्कार प्रदान गरेको हो।

प्रकाशित : 17 August, 2026 2:52 pm