काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्ने बताएका छन्।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ढकालले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक तथा सांस्कृतिक क्षेत्रमा मात्र सीमित नभई आर्थिक र व्यावसायिक साझेदारीमा समेत विस्तार भइरहेको बताए।
कोरियामा रोजगारीका क्रममा हजारौं नेपाली युवाले हासिल गरेको सीप, प्रविधिको ज्ञान, कार्यअनुभव र पुँजीलाई स्वदेशमा उद्यमशीलता विकासका लागि उपयोग गर्नुपर्नेमा उनले जोड दिए। उनका अनुसार रिटर्नी उद्यमीले कोरियामा सिकेको अनुशासन, उत्पादकत्व र कार्यसंस्कृति नेपाली उद्योगमा लागू गर्न सके देशको औद्योगिक चरित्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिन्छ।
ढकालले कोरियाले करिब ६ दशकमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले पनि सिक्नुपर्ने बताए। अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको समन्वय कोरियाको आर्थिक विकासका महत्वपूर्ण आधार भएको उनको भनाइ थियो।
उनले नेपालमा जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए। भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर दिएको उनले उल्लेख गरे।
लगानीमैत्री नीति निर्माण तथा एकद्वार सेवा प्रणालीका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर संवाद गरिरहेको बताउँदै ढकालले यस अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ अधिकृत पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी पनि उनले दिए। नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीका लागि कम्पनीले लगानी साझेदारको भूमिका निर्वाह गर्न सक्ने तथा सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानी गर्न सक्ने उनले बताए।
रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपाली उद्योग क्षेत्रका लागि महत्वपूर्ण रहेको ढकालले बताए। स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत समस्या सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच नियमित संवादमार्फत समाधान गर्न सकिने उनको भनाइ थियो।
ढकालले रिटर्नी उद्यमीको लगानी र सीपबाट स्वदेशमै उत्पादन र रोजगारी बढाउँदै आर्थिक समृद्धिको नयाँ आधार तयार हुने विश्वास व्यक्त गरे। उनले एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट रिटर्नी उद्यमीलाई आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत, कोरियाली दूतावासका अधिकारी, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी आप्रवासी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।


Comment